कोरोना रोकथामका थप तयारी आवश्यक छ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम, २० साउन : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशमा कोरोना भाइरसको सङ्क्रमण थप बढ्न सक्ने भन्दै रोकथामका लागि आवश्यक तयारी गर्नुपर्ने बताउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा आज बसेको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकमा मुख्यमन्त्रीले भारतबाट आउने कतिपय नेपाली क्वारेन्टिइनमा नबसी सिधै घर जाने गरेको पाइएको अवस्थामा सङ्क्रमणको जोखिम बढेको बताउनुभयो ।

उहाँले क्वारेन्टिन र आइसोलेसनको व्यवस्थापन गर्न निर्देशनसमेत दिनुभयो । भारतबाट आउने नेपालीलाई सीमा क्षेत्रबाट सम्बन्धित स्थानीय तहले क्वारेन्टिनमा पठाउनुपर्ने जिम्मेवारी रहेकोमा पछिल्ला केही हप्तादेखि क्वारेन्टिनमा पठाउने काम कसैले नगरेको बताइएको छ । जसका कारण प्रदेशमा रोगको जोखिम थप बढेको स्वास्थ्यकर्मीको भनाइ छ । हाल सुदूरपश्चिमका जिल्लामा रहेका क्वारेन्टिनमा झण्डै दुई हजार व्यक्ति मात्र बसिरहेका छन् ।

प्रदेशमा विभिन्न नाकाबाट हाल दैनिक ३०० देखि बढीमा एक हजारको सङ्ख्यामा नेपाली भित्रिइरहेको क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले बताउनुभयो । “नेपाल भित्रिनेमध्य थोरै व्यक्तिमात्र क्वारेन्टिनमा जाने गरेको पाइएको छ”, डा अवस्थीले भन्नुभयो, “भित्रिने कतिपय व्यक्ति क्वारेन्टिनमा नगएर सिधै घर जाने प्रवृत्तिले रोगको जोखिम थप बढेको छ ।”

बैठकमा कोभिड–१९ को उपचार र व्यवस्थापनमा हालसम्म भए गरेका कार्यको समीक्षा र आगामी दिनमा गर्नुपर्ने कार्यका बारेमा छलफल गरिएको छ । बैठकमा कोरोना सङ्क्रमितको उपचार गर्ने नयाँ पद्धति ‘प्लाज्मा थेरापी’ लागू गर्ने बारेमा समेत छलफल गरिएको छ । यो विधि हाल सेती प्रादेशिक अस्पताल धनगढीमा मात्र सञ्चालनमा ल्याउन सकिने अवस्था रहेको डा अवस्थीले जानकारी दिनुभयो । बैठकमा स्वास्थ्य निर्देशक डा अवस्थी, प्रदेशका प्रमुख सचिव, कैलालीका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, सेती प्रदेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्टलगायत सहभागिता रहेको थियो ।

सुदूरपश्चिम प्रदेशसभाको बैठकमा विधेयक टेबुल

सुदूरपश्चिम प्रदेशसभाको आज बसेको बैठकमा सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले ‘प्रदेश बालबालिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ टेबुल गर्नुभयो । यसैगरी आन्तरिक मामिला तथा कानूनमन्त्रीको तर्फबाट सामाजिक विकासमन्त्री सुवेदीले ‘प्रदेश लोकसेवा आयोग ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’ समेत टेबुल गर्नुभयो । बैठकमा प्रदेशसभा विधायन तथा प्रदेश मामिला समितिमा दफावार छलफल पछि तयार भएको ‘रेडियो, एफएम तथा टेलिभिजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’का सम्बन्धमा तयार पारिएको प्रतिवेदन समितिका सभापति नेपालु चौधरीले प्रस्तुत गर्नुभयो ।

बैठकको विशेष समयमा प्रतिपक्षी नेपाली काँग्रेस संसदीय दलका नेता डा रणबहादुर रावलले समसामयिक विषयमा बोल्नुभएको थियो । गएको असार २४ गते चालू आर्थिक वर्षको प्रदेश सरकारको बजेट पारित गरेपछि अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित प्रदेशसभाको बैठक आज लामो समय पछि शुरु भएको हो । कोरोना रोकथामका लागि परीक्षणको दायरा बढाउनुपर्ने, रोकथाममा भएको खर्च विवरण सार्वजनिक गर्नुपर्नेलगायत माग राखी प्रतिप्रक्षी दलको विरोध र नाराबाजीका बीच गएको असार २४ गते सरकारको चालू आवको बजेट पारित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2025. All Rights Reserved.