चाडपर्वका बेला पहाडी जिल्लामा खाद्यान्न सङ्कट नहुने

भीमदत्तनगर, ७ असोज : नजिकिँदै गरेको चाडपर्वका बेला सुदूरपश्चिमको पहाडी जिल्लामा यस वर्ष खाद्यान्नको समस्या नहुने देखिएको छ । केही दिनयता बैतडीको पुलाउ डिपोमा चामलको अभाव देखिए पनि त्यहाँ दुई चरणमा गरेर ११० क्विन्टल चामल पठाइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड धनगढीले जनाएको छ ।

“यहाँ धेरै ठाउँमा खाद्यान्न पठाउने प्रक्रिया चलिरहेको छ”, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका कार्यालय प्रमुख अनिलकुमार श्रेष्ठले भन्नुभयो, “खाद्यान्न ढुवानीका लागि बोलपत्र आह्वान प्रक्रिया अन्तिमतिर पुगेको छ ।”

उहाँले सुदूरपश्चिममा बढी खाद्यान्न समस्या हुने बाजुरा जिल्लामा शाखा र डिपोहरुमा गरी करीब पाँच हजार क्विन्टल चामल मौज्दात रहेको बताउनुभयो ।

सरकारी ढुवानी अनुदानमा यहाँका पहाडी जिल्लामा विगत लामो समयदेखि खाद्यान्न ढुवानी हुँदै आएको छ । बाजुराको शाखा कार्यालयमा दुई हजार ४५२ क्विन्टल चामल र कोल्टी डिपोमा दुई हजार ५७४ क्विन्टल चामल उपलब्ध रहेको कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

“अहिले खाद्यान्न समस्या बाजुराको विकट ग्रामीण भेगमा हो”, उहाँले भन्नुभयो, “अहिले धेरै ठाउँमा यातायातको सहज पहुँच भएकाले हामीबाट चामल खरिद गर्नेको सङ्ख्यामा कमी हुँदै आएको छ ।”

त्यसैगरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको धनगढी कार्यालयमा तीन हजार ३०० क्विन्टल खाद्यान्न मौज्दात रहेको छ । पहाडी जिल्ला अछाममा भने अछाममा ३६७ क्वीन्टल खाद्यान्न मौज्दान रहेको लिमिटेडले जनाएको छ ।

“बझाङमा त लिमिटेडको खाद्यान्न खरिद दर नै घटिसकेको छ”, उहाँले भन्नुभयो, “सडक र यातायात नपुगेको ठाउँमा मात्रै ढुवानी अनुदानको खाद्यान्न बढी बिक्री हुँदैछ ।” त्यसैगरी नजिकिँदै गरेको विजया दशमीदेखि छठ पर्वसम्मका लागि धनगढी र डडेल्धुरामा सुपथ मूल्य पसल सञ्चालन गरिएको कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

“चाडपर्वका बेला दुई जिल्लाका लागि पाँच÷पाँच सय क्विन्टल जिरा मसिनो र सोना चामल आएको छ”, उहाँले भन्नुभयो, “अन्यत्रभन्दा सुपथ मूल्य पसलमा चामल प्रतिकिलो रु पाँचले सस्तो हुन्छ ।”

चालू आर्थिक वर्षमा खाद्यान्न खरिदका लागि लिमिडेटका लागि बजेट छुट्याइएको भए पनि आइनपुगेको श्रेष्ठले बताउनुभयो । सुदूरपश्चिमका पहाडी जिल्लामा खाद्यान्न पैठारी गर्दै आएको लिमिटेडले गत वर्ष ३७ हजार ८५ क्विन्टल खाद्यान्न खपत भएको जनाएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड भीमदत्तनगर शाखाले गत वर्ष मूल्य निर्धारण ढिलो गरी हुँदा थोरै मात्रै धान खरिद गर्न पाइएको जनाएको छ । भीमदत्तनगर शाखाका प्रमुख जयराज जोशीले ढिलो गरी मूल्य निर्धारण हुँदा गत वर्ष ५०९ क्विन्टल मात्रै धान खरिद गरिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.