दलितले पुज्ने ‘जोगिने जात पर्व’ सम्पन्न
डडेल्धुरा १९, भदौ : तीन वर्षको फरकमा पूजा गरिने डडेल्धुराको भागेश्वर गाउँपालिका–२ रुपालको जोगेनी जात पर्व सम्पन्न भएको छ । प्रत्येक तीन वर्षमा गौरा पर्वपछि लाग्ने जोगिने वा भूत जात आज जोगिनी माताका साथै भूतको पूजा गरी सम्पन्न भएको हो ।
यो देवता वा जोगिनी मातालाई दलित समुदायका व्यक्तिहरुले पूजा गर्ने गर्दछन् । बिरुडा पञ्चमीको साँझ कोटेउडाको देउथलीमा भेला भई जात्राको दिन र नौरथा बस्ने व्यक्ति तोकिन्छ । सबै गाउँलेहरु मिलेर कहिले देवताको धामी जात्रा कुन दिन गर्ने भनेर छलफल गरी दलित समुदायबाट पुजारी छनौट गर्ने चलन छ ।
दलित समुदायका सुनी, तिरुवा र सार्की थर भएकाहरुले पूजाआजा र जातको व्यवस्थापनसमेत उनीहरुले नै गर्नुपर्ने हुन्छ । दलित समुदायका मानिसले नै जातका लागि पूरै व्यवस्थापन गर्नुपर्ने स्थानीय डम्बर तिरुवाले बताउनुभयो ।
जात्राको दिन तोकिएपछि गाउँबाट सार्की थरका र तिरुवा थरकाले पूजा गर्न चाहिने पोखल अन्न र अरु पूजाआजाका सरसामान व्यवस्था गदर्छन् । जात्रा शुरु हुने केही दिन अगाडि भागेका वीरहरु वा भूतको पूजाआजा गरिने स्थानीय दलित समुदायका बूढापाकाहरुको भनाइ छ ।
सुदूरपश्चिमका प्राय सबै जिल्लाबाट भक्तजनहरु यसपालिको जोगिने जात वा भूत जात्रामा आएको स्थानीयले बताएका छन् । यस जातलाई ६४ माताको रूप पनि भन्ने गरिन्छ । यस जातमा विभिन्न चौलाहरु आई जातको आकर्षण बढाइने गरिन्छ । मुख्य चौलो कोटेउडाको चौलो हुन्छ भने अरु चौलाहरु पनि हुने गरेको स्थानीय रुपालका लोकराज भट्टले बताउनुभयो ।
यसपालिको जातमा ‘पड चौलो’, ‘नौतडी चौलो’, ‘विस्तडी चौलो’ र ‘तल्ली रुपालको चौलो’ आएका थिए । जातमा अधिकांशले हातमा खुकुरी र तरबार लिएर जात्राको आनन्द लिई रमाइलो गरेका थिए । यस जात्रामा क्रियामा बसेका, महिनावारी भएका महिलासमेत आउने गर्दछन् । भूत जातमा कुनै पनि प्रकारको जातीय विभेद् गरिँदैन । यसलाई अहिले पनि रुपालवासीहरु सकारात्मकरूपमा लिन्छन् । सदियौँ देखिको प्रचलन यस जातमा रहेको पाउन सकिने पण्डित हेमराज चटौतले बताउनुभयो ।
आजको दिन सबै स्थानीयहरु जात हुने स्थान जोगेनी डाँडामा बिहानैदेखि जम्मा भएका थिए । यस दिनलाई यस क्षेत्रकै महत्वपूर्ण पर्वका रूपमा मान्ने गर्दछन् । आजको दिन गाउँमा विभिन्न जङ्गली जनावरलगायत भूतप्रेत आउने पुरानो जनविश्वासका कारण दिउँसो घरमा कोही नबस्ने प्रचलन छ । देवताको अनुमतिपछि ६४ मातालाई खुसी पार्न चौलो खेलेको हेर्न स्थानीयहरु जोगेनी डाँडामा आएका थिए ।
