बन्दको मार यात्रु र व्यावसायीलाई

कञ्चनपुर, ३० फागुन : बन्द हडताललगायतका क्रियाकलापले यात्रुमा गम्भिर मारमा पर्नुका साथै यातायात व्यवसायीलाई दैनिक रु एक करोड बढीको घाटा लाग्ने गरेको व्यावसायीको भनाइ छ ।

बन्दका कारण यातायातका साधन सञ्चालन हुन नसकेपछि व्यवसायीले बसपार्कमा थन्क्याएर राख्नु पर्दा घाटा व्यहोर्नु पर्छ भने यात्रु पैदलयात्रा गर्न बाध्य हुन्छन् । महाकाली यातायात व्यवसायी समितिका अध्यक्ष डम्बर पन्तका अनुसार बन्दले व्यवसायीलाई दैनिक रु एक करोड र समितिले रु ६० हजार बढी घाटा व्यहोर्नु परेको छ ।

“बसलगायतका यातायातका साधनमा लगानी गरेका अधिकांश व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका हुन्छन् । बन्द आह्वानका कारण यातायातका साधन सञ्चालन हुन नसकेपछि आम्दानी हुँदैन । आम्दानी नभएपछि बैंकलगायतका वित्तीय संस्थाको ऋण चुक्ता गर्न नसक्दा साधन नै लिलामी प्रक्रियामा जाने गर्दछन्”, अध्यक्ष पन्तले भन्नुभयो, “बन्द हडतालका मार यातायात व्यवसायीलाई नै हुने भएकाले बन्दको विकल्पमा अन्य दबाबमूलक कार्यक्रम आयोजकले गर्नु पर्दछ ।”

बन्दका कारण यातायातका साधन सञ्चालन गरे तोडफोड र आगजनीलगायतका कार्य हुने गरेकाले साधन थन्क्याउनुको साटो अर्को विकल्प नै नभएको व्यवसायीको भनाइ छ । व्यवसायीले सुरक्षाको भरपर्दो ग्यारेण्टी नहुँदासमेत यातायातका साधन बन्दका बेला सञ्चालन गर्न नसकेको गुनासो गरेका छन् ।

कञ्चनपुरमा महाकाली यातायातका ५३४ र पवनदूत यातायातका १३२ वटा यातायातका साधन सञ्चालनमा रहेका छन् । कुनै पनि समस्याको हल बन्द हडताल नभएकाले समस्या समाधान गर्न वार्ता र छलफलको बाटो अवलम्बन गर्नुपर्ने यातायात व्यवसायीको भनाइ छ ।

यसैबीच नेकपा विप्लवले आह्वान गरेको बन्दका कारण कञ्चनपुरमा आज बिहानैदेखि यातायातका साधन ठप्प रहे । भीमदत्तनगरस्थित बसपार्कबाट सञ्चालन हुने लामो र छोटो दूरीका सवारी साधन सञ्चालन नहुँदा यात्रुले पैदल नै गन्तव्यमा जानुप¥यो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.