डोटेली भाषा एकरूपताका लागि प्रशिक्षण

भूपेन्द्रसिंह विष्ट । परशुराम, १२ फागुन : डोटेली भाषाको वर्ण निर्धारण र प्रवद्र्धन, लेखाइमा एकरूपता, व्याकरणमा समानता र भाषा प्रयोगमा प्रोत्साहन दिने उद्देश्यले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका शिक्षक तथा सरोकार पक्षलाई प्रशिक्षण दिन थालिएको छ ।

डोटेली भाषा कर्णाली र सुदूरपश्चिम प्रदेशमा बढी बोलिन्छ । विसं २०६८को जनगणनानुसार डोटेली भाषा बोल्नेको सङ्ख्या सात लाख ८७ हजार ८२७ छ ।पहिलो चरणमा चार जिल्लामध्ये डडेल्धुरामा प्रशिक्षण भइसकेको छ । प्रशिक्षणमा हरेक जिल्लामा गरी ३० भन्दा बढी प्रशिक्षण सञ्चालन हुने आयोजक मातृभाषा नेपालले जनाएको छ । संस्थाका अनुसार हरेक कक्षामा ३० देखि ५० जनासम्मलाई सहभागी गराइनेछ । भाषामा चासो राख्ने सर्वसाधारण, शिक्षक, प्राध्यापक, कानून व्यवसायी र समाजका अगुवालाई पहिलो चरणमा यो प्रशिक्षण दिन शुरु गरिएको हो ।

डोटेली भाषाको बृहत् शब्दकोष निर्माणपछि पहिलो पटक डोटेली भाषा बोलिने सबै क्षेत्रमा लेखाइमा एकरूपता ल्याउने उद्देश्यले मातृभाषा नेपालले यो प्रयास थालेको हो । “भाषिक समानताका लागि शुरु भएको यो पहिलो चरणको अभियान मात्र हो”, मातृभाषा नेपालका अध्यक्ष प्रा डा मोहन भट्टले भन्नुभयो, “पहिलो चरणमा डोटी, डडेल्धुरा, बैतडी र बझाङमा शिक्षक र भाषाप्रेमीहरूलाई प्रशिक्षण दिन शुरु गरिएको छ ।” दोस्रो चरणमा प्रदेशका सबै जिल्लामा शिक्षक तथा सरोकार पक्षलाई प्रशिक्षण दिइने र डोटेली भाषाको प्रयोग गर्न प्रोत्साहन गरिने भट्टले जानकारी दिनुभयो ।

नेपाली भाषाभन्दा हजारौंँ वर्ष पुरानो मानिएको डोटेली भाषा बृहत् डोटी राज्य खण्डित भएसँगै सातौँ शताब्दीबाट छिन्नभिन्न भएको इतिहासकारको मत छ । भारतको हालको काश्मीरसँग र यता राप्ती नदीसम्म सिमाना जोडिएको राजा शुभानुदेवले स्थापना गरेको बृहत् डोटी राज्यको मूलभाषा कुनै समय डोटेली भाषा थियो । इतिहासका विभिन्न कालखण्डमा टुक्रिँदै जाँदा यो भाषा अहिलेको स्वरूपमा पुगेको इतिहासकारको भनाइ छ । डोटेली संस्कृतिका अधिकांश अनुसन्धानकर्ताले यस भाषालाई नेपालका आदिवासीको भाषासँगैको इतिहास भएको बताएका छन् ।

डोटेली भाषासम्बन्धी प्रशिक्षणले आगामी दिनमा भाषा लेखनमा रहेको विविधता हटी डोटेली भाषाको व्याकरणमा एकरूपताका साथै यसको प्रयोगमा पनि ठूलो सहयोग पुग्ने विश्वास भाषाविद्ले विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.