सुदूरपश्चिम प्रदेश : बैठक स्थगन
धनगढी, ८ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशसभाको पहिलो बैठकलाई गर्नुभएको सम्बोधनप्रतिको धन्यवाद प्रस्ताव पारित गर्न आह्वान भएको दोस्रो बैठक स्थगन गरिएको छ ।
पहिलो बैठक सकिएको १५ मिनेटपछि आह्वान गरिएको दोस्रो बैठकमा प्रधानमन्त्रीको सम्बोधनप्रति धन्यवाद प्रस्ताव पेश गर्ने कार्यसूची रहेकामा बैठक शुरु हुँदा प्रतिपक्षी बेञ्चमा कुनै पनि सदस्यको उपस्थिति नभएपछि संसदीय परम्पराअनुसार कार्यसूचीमा प्रवेश नगरी बैठक स्थगन गरिएको प्रदेशसभा सचिवालयका सचिव बालाराम शर्माले बताउनुभयो ।
प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेस संसदीय दलका नेता डा रणबहादुर रावलले प्रधानमन्त्रीको सम्बोधनपछि सभामुखले धन्यवादज्ञापन गरिसकेको अवस्थामा औपचारिक रुपमा अर्को बैठक आह्वान गरेर धन्यवाद प्रस्तावको कार्यसूची राख्नु जरुरी नभएकोले आफूहरुले आजको दोस्रो बैठक बहिष्कार गरेको प्रतिक्रिया दिनुभयो ।
प्रधानमन्त्रीलाई ज्ञापन
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष सुदूरपश्चिम प्रदेशसभामा नेपाली काङ्ग्रेस संसदीय दलले विभिन्न माग सम्बोधन गर्न माग गर्दै आज ज्ञापनपत्र पेश गरेको छ । सुदूरपश्चिम प्रदेशसभालाई आज सम्बोधन गर्नुभएका प्रधानमन्त्रीलाई पेश गरिएको ज्ञापनपत्रमा निर्मला पन्तका हत्यारा अविलम्ब पत्ता लगाई अपराधीलाई कानूनी दायरामा ल्याउन माग गरिएको छ ।
यस्तै अव्यस्थित बसोबासलाई व्यवस्थित बनाउन आयोग गठन हुनुपर्ने, प्रदेशका सबै जिल्लामा अस्पताल स्थापना गरी गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्ने, कैलाली कञ्चनपुरमा मात्र बसोबास रहेको रानाथारू जातिलाई आदिवासी जनजातिको सूचीमा सूचीकृत गराउनुपर्ने, नेपाल भारत सीमा क्षेत्रको सीमा स्तम्भको सुरक्षा लगायतमा ध्यान दिनुपर्ने, श्रमजीवी पत्रकार र सञ्चारगृहको उचित सम्मान र सूचनाको हकका साथै सुरक्षाको प्रत्याभूतिको व्यवस्था गर्नुपर्ने लगायतका मागसमेत गरिएको छ ।
संसदीय दलका नेता डा रणबहादुर रावलद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा आर्थिक सुशासन र पूर्वाधार विकासका मुद्दासम्बन्धी विभिन्न मागसमेत गरिएको छ ।
