प्रदेशसभा बैठकमा सरकारको ध्यानाकर्षण

धनगढी, ११ माघ : सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा प्रदेशसभाका सदस्यले प्रदेशका समसामयिक समस्याको समाधानमा चासो दिन सदन र सरकारको ध्यानाकर्षण गराए ।

सभामुखको अनुमतिमा विशेष समयमा बोल्ने प्रदेशसभा सदस्यले डडेलधुरामा केही दिन अघिको चट्याङबाट मृत्यु भएका व्यक्तिका परिवारलाई राहत दिनुपर्ने, चट्याङ्कै कारण घाइते भएका अछामका १८ जनाको उपचारको व्यवस्थाका साथै राहत दिनुपर्ने तथा वर्षासँगैको हिमपातले पहाडी जिल्लामा यातायात आवागमनमा भएको समस्या समाधानमा ध्यान दिन प्रदेश सरकारसँग माग गरे ।

यसै गरी सदस्यहरुले कञ्चनपुरको आरक्ष पीडित र मुक्त हलियाको समस्या समाधान र भीमदत्तनगर विकास समितिको जग्गामा बनेका अवैध घर संरचना हटाउन, कञ्चनपुरको डोके बजार नजिकको नेपाल–भारत सीमामा भारतले एक पक्षीय रुपमा नाली निर्माण गरेको लगायतका मुद्दामा सरकारको ध्यान पुग्नुपर्ने बताए । कतिपय सदस्यले सरकारका काम कारवाही प्रति जनताले प्रश्न गर्न थालेको गुनासो गरेका थिए । उनीहरुले परिणाम देखिने गरी काम गर्नुपर्ने, गत आर्थिक वर्षको अन्त्यतिर ल्याइएको डल्लो बजेट खर्चका बारेमा कैफियत देखिएको र सो विषयमा सदनलाई स्पष्ट जानकारी दिनुपर्ने लगायतका मुद्दा उठाएका थिए ।

विषेश समयमा सत्ता पक्ष नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का लालबहादुर सोडारी, पूर्ण जोशी, अक्कलबहादुर रावल, प्रतिपक्षी नेपाली काङ्ग्रेसका कुमारीनन्दा बम र डिल्लीराज पन्त र राष्ट्रिय जनता पार्टी (राजपा)का कृष्णबहादुर चौधरीले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ लाई सभा समक्ष टेबुल गर्नुभयो । यसै गरी प्रदेशसभा, सामाजिक विकास समितिका सभापति कुन्ती जोशीले समितिमा छलफल भई तयार गरिएको सुदूरपश्चिम प्रदेशको सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभयो । अर्को बैठक यही माघ १४ गते दिउँसो २ बजे बस्ने छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.