भट्ट हत्याका मुख्य अभियुक्त ऐरसहित चार पक्राउ

कैलालीको अत्तरियामा गत शनिबार दुई समूहबीच भएको विवादका क्रममा युवक अरुण भटटलाई धारिलो हतियार प्रयोग गरी हत्या गर्ने मुख्य अभियुक्तसहित चार जनालाई पक्राउ गरी सोमबार जिल्ला प्रहरी कार्यालय कैलालीमा सार्वजनिक गर्दै प्रहरी । तस्वीर: तिलकराज ओझा, कैलाली

धनगढी, ७ माघ : कैलालीको अत्तरियाका २०वर्षीय अरुण भट्टको हत्या गरी फरार रहेका एक मुख्यसहित चार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गरी पक्राउ परेका उक्त हत्या घटनाका मुख्य अभियुक्त गोदावरी नगरपालिका–२ का विनोद ऐर रहेको जानकारी दिएको छ । घटनापछि मुख्य अभियुक्तलाई आफ्नो डेरा कोठामा लुकाउने काम गर्ने धनगढी उपमहानगरपालिका–२ की २१वर्षीया मञ्जु चौधरी (खड्का) र वडा नं १३ का २१ वर्षीय लोकेश खत्री तथा मुख्य अभियुक्तलाई मोटरसाइकलमा राखी भगाउने धनगढी–३ का डेबिटसिं ऐरलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक आभूषण तिम्सिनाले जानकारी दिनुभयो ।

शनिबार साँझ अत्तरियामा जारी रहेको महोत्सव सकिएलगत्तै पुरानो रिसइवीका कारण ऐर लगायत तीन–चार जनाको समूहले मृतक भट्टको समूहमाथि धारिलो हतियारले आक्रमण गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आक्रमणबाट घाइते भट्टलाई उपचारका लागि सेती अञ्चल अस्पताल ल्याउने क्रममा बाटैमा मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.