जैविक मार्ग प्रदेश सरकारको प्राथमिकतामा

कञ्चनपुर, २४ पुस (रासस) : भीमदत्त नगरपालिकाको गौरबको योजना रौटेला–ब्रह्मदेब जैविक धार्मिक पर्यटन मार्ग सुदूरपश्चिम प्रदेश सरकारको प्राथमिकतामा परेको छ ।

प्रदेश सरकारले जैविक मार्गलाई प्राथमिकता दिएर चालु आर्थिक वर्षमा विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) बनाउन बजेट विनियोजन गरेको छ । ब्रम्ह्देवबाट शुरु सो मार्गलाई कर्णाली नदीसम्म पुगाउन काली, गोदावरी र कर्णाली मार्ग नामाकरण गरी डिपिआर बनाउन यस वर्ष रु दुई करोड बजेट विनियोजन गरिएको छ ।

नगर प्रमुख सुरेन्द्र विष्टले स्थानीय तह निर्वाचनपछि गौरवको योजनाका रुपमा जैविक मार्ग निर्माण गरिएको बताउनुभयो । नगरपालीकाको आन्तरिक स्रोतमा निर्माण गरिएको मार्ग रौटेला–ब्रह्मदेब जोडिएको छ । नगरपालीकाका वडा नं १, ३, ७, ८, १० र ९ नम्बर वडा जोडिएका १५ दशमवलब ३ किलोमिटर लम्बाईको सो मार्ग १८ मिटर चौडा छ । जैविक मार्ग पर्यटन प्रवद्र्धन, चुरे संरक्षण, वस्ती र जनावरवीच द्वन्द्व न्यूनीकरण गर्न तथा घाँडीघाँचका वासिन्दालाई सहज आवागमनका लागि बनाइएको उहाँले बताउनुभयो ।

गोदावरी हुँदै कर्णाली पुग्ने मार्गले सुदूरपश्चिम प्रदेशको समृद्धिमा टेवा पुग्ने प्रमुख विष्टले जानकारी दिनुभयो । गत माघ २२ गते बाराकुण्डामा उक्त मार्गको शिलान्यास गरिएको थियो । स्थानीय तह निर्वाचनमा जैविक मार्ग निर्माण नगर प्रमुख विष्टको प्रमुख चुनावी एजेण्डा थियो ।

सो मार्ग निर्माणपछि घाँडीघाँच क्षेत्रका वासिन्दालाई यातायात सुविधा पुगेको छ । “सडक नपुग्दा जग्गा बैंकमा राख्दा ऋण पाईदैनथ्यो”, बाराकुण्डाका स्थानियवासी रविन्द्र कुवँरले भन्नुभयो, “सडक पुगेसँगै जग्गाधनी पूर्जा बैैकमा राखेर ऋण समेत पाईन थालेको छ ।”

नगरपालिका वडा नं ९ का अध्यक्ष राम नाथले जैविक मार्ग निर्माणपछि जग्गाको मूल्य बढेको बताउनु भयो । मार्ग बनेपछि रु एक दुई लाख पर्ने जग्गा अहिले रु पाँच लाखमा बेचविखन हुन थालेको छ । उक्त मार्गले रौटेलादेखि ब्रह्मदेवसम्मका धार्मिक पर्यटकीय स्थल एक आपसमा जोडिएका छन । जैविक मार्गमा रौटेला मन्दिर, बाराकुण्डा ताल, विष्णु मन्दिर धाम, भम्केनी धाम, झिलमिला ताल, कालिताल ताल झरना र सिद्धनाथ मन्दिर परेका छन ।

प्रदेश सरकारका उद्योग, वन, वातावरण तथा पर्यटन राज्यमन्त्री प्रकाश रावलले जैविक मार्गलाई प्रदेश सरकारले प्राथमिकता दिएर बजेट विनियोजन गरेको जानकारी दिनुभयो । भीमदत्तबाट शुरु भएको सो मार्ग गोदावरीदेखि कर्णालीसम्म चुरे फेद हुँदै जोडिए सिंगो प्रदेशको आर्थिक विकासका लागि महत्वपूर्ण हुने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.