राष्ट्रिय शिक्षा दिवसको अवसरमा राष्ट्रपतिबाट नेपाल विद्याभूषण पदक र नेपाल छात्रा विद्या पदक वितरण

राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलका साथमा ३९औँ राष्ट्रिय शिक्षा दिवसको अवसरमा शनिबार नेपाल विद्याभूषण पदक तथा विद्यापदकद्वारा सम्मानितहरु । तस्वीर: नवीन पौडेल

सुशील दर्नाल । काठमाडौँ, २३ भदौ : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाललाई सन् २०३० सम्ममा मध्यम आय भएको मुलुकको स्तरमा रुपान्तरण गर्ने राष्ट्रिय लक्ष्यमा क्रियाशील हुन आह्वान गर्नुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी ३९औँ राष्ट्रिय शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षारता दिवसको अवसरमा काठमाडौँमा शनिबार आयोजित समारोहमा नेपाल विद्याभूषण पदकद्वारा सम्मानित गर्नुहुँदै । तस्वीर: नवीन पौडेल

३९ औँ राष्ट्रिय शिक्षा दिवस–२०७५ तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा साक्षरता दिवस मूल समारोह समितिद्वारा राष्ट्रपति भवन शीतल निवासमा आयोजित “नेपाल विद्याभूषण पदक र नेपाल छात्रा विद्या पदक वितरण समारोह” मा राष्ट्रपति भण्डारीले सो कुरा बताउनुभएको हो ।

राष्ट्रपति भण्डारीले भन्नुभयो, “सामाजिक न्यायमा आधारित समतामूलक समाज निर्माण गर्न सबै तहका सरकार समन्वय र सहकार्यको दिशामा अग्रसर बनेका छन्, सन् २०२० सम्ममा नेपाललाई विकासशील राष्ट्रको रुपमा स्तरोन्नति गर्ने, सन् २०२२ सम्ममा अल्पविकशीत राष्ट्रबाट विकासशील राष्ट्रमा अगाडि बढाउने सामूहिक दायित्वलाई पूरा गर्न राज्यका सम्पूर्ण निकाय क्रियाशील हुन हार्दिक आह्वान गर्दछु ।”

राष्ट्रपति भण्डारीले नेपालको संविधानले शिक्षालाई नागरिकको मौलिक अधिकारको रुपमा स्थापित गरेको सन्दर्भमा संवैधानिक प्रावधानलाई मध्ये नजर राखेर आधारभूत शिक्षालाई अनिवार्य र माध्यमिक शिक्षालाई निःशुल्क गर्ने सङ्कल्पलाई पूरा गर्न सबै प्रतिबद्ध हुनुपर्नेमा जोड दिनुभयो । उच्च शिक्षालाई सर्व सुलभ, युग सुहाउँदो र जीवन उपयोगी बनाउँदै बालबालिकालाई उच्चस्तरको राष्ट्रिय भावनाबाट प्रेरित भई समाजप्रति सर्मपित हुने उच्च नैतिकवान र कर्तव्यनिष्ट बनाउने शिक्षा प्रदान गर्न सदा कटिबद्ध हुनुपर्ने राष्ट्रपति भण्डारीको भनाइ छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी ३९औँ राष्ट्रिय शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षारता दिवसको अवसरमा काठमाडौँमा शनिबार आयोजित समारोहमा नेपाल विद्याभूषण पदकद्वारा सम्मानित गर्नुहुँदै । तस्वीर: नवीन पौडेल

राष्ट्रपति भण्डारीले देश विकासका लागि आवश्यक पर्ने गुणस्तरीय जनशक्ति तयार पार्न विश्व विद्यालय र शैक्षिक प्रतिष्ठान कटिबद्ध हुनुपर्नेमा जोड दिनुभयो ।
गहन राष्ट्रिय दायित्वलाई मध्यनजर गर्दै यो वर्ष सरकारले ३९ औँ शिक्षा दिवसका लागि “समाजवाद उन्मुख समृद्ध राष्ट्र निर्माणको आधार, दक्ष जनशक्ति एवं दिगो शैक्षिक पूर्वाधार” मूल भावना साथ कार्यक्रम अगाडि बढाएको छ । कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनको उपस्थिति रहेको थियो ।

दिवसका अवसरमा राष्ट्रपति भण्डारीले ‘क’ श्रेणीको नेपाल विद्याभूषण पदकका लागि सिफारिश हुनुभएका ध्रुवराज रेग्मी (गोरखा), दिवाकर वरिष्ठ (चितवन), मायानाथ घिमिरे (लमजुङ), रमेशप्रसाद रिजाल (खोटाङ) र टङ्कप्रसाद उप्रेदी (झापा) लागतयका २३३ जनालाई पदक तथा प्रमाणपत्र वितरण गर्नुभयो । त्यसैगरी ‘ख’ श्रेणीको नेपाल विद्याभूषण पदकका लागि सिफारिश हुनुभएका ११८ जना, ‘ग’ श्रेणीको १७ जना, स्नातक तहतर्फको नेपाल छात्रा विद्यापदकतर्फ १७ जना र प्रमाणपत्र तहतर्फ एक जनालाई पदक तथा प्रमाणपत्र वितरण गर्नुभयो ।

सोही अवसरमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले सरकार समृद्ध नेपाल, सुखी नेपाली भन्ने दीर्घकालीन सोचसहित राष्ट्र विकासको अभियानमा जुटिरहेको सन्दर्भमा साक्षरता दिवसको अवसरमा विभूषितले प्राप्त गरेको ज्ञान, सीप र दक्षता अभियानको निम्ति उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । विसं २००७ वरिपरि दुई प्रतिशत रहेको साक्षरता दर अहिले करीब ८२ प्रतिशतको हाराहारीमा पुगेको छ । प्राथमिक आधारभूत र माध्यमिक तहको खुद भर्ना दर क्रमशः ९७.२ प्रतिशत, ९२.३ प्रतिशत र ४३.९ प्रतिशत पुगेको छ । यसले विद्यालय शिक्षामा पहुँचको विस्तार भएको पुष्टि गर्दछ ।

अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा, निःशुल्क माध्यमिक शिक्षाजस्ता विषय मौलिक हकको रुपमा कार्यान्वयनको चरणमा छन् । विद्यालय शिक्षामा रुपान्तरणका लागि विद्यालय क्षेत्र विकास कार्यक्रम कार्यान्वयन भइरहेको शिक्षा मन्त्रालयले जनाएको छ ।

त्रिचन्द्र कलेजको स्थापनाबाट शुरु भएको नेपालको उच्च शिक्षा विभिन्न आरोहअवरोह पार गर्दै यो अवस्थासम्म आई पुगेको सन्दर्भ उल्लेख गर्दै मन्त्री पोखरेलले अहिलेसम्म ११ वटा विश्वविद्यालय स्थापना भइसकेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.