जीवनलाई समृद्ध पार्न शिक्षाको भूमिका महत्वपूर्ण : राष्ट्रपति भण्डारी

आदिकवि भानुभक्त माध्यमिक विद्यालय नारायणगढको स्वर्ण महोत्सव मूल समारोहको मंगलबार उदघाटन गर्नुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारी । तस्वीर: नारायण अधिकारी, चितवन

रत्ननगर, २२ माघ : राष्ट्रपति विद्यादेवी भण्डारीले मानवीय जीवन पद्धतिलाई समृद्ध पार्न शिक्षाले ठूलो भूमिका खेलेको बताउनुभएको छ । चितवनको नारायणगढस्थित आदिकवि भानुभक्त माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले ‘‘मानवीय जीवन पद्धतिलाई समृद्ध पार्न शिक्षाले ठूलो भूमिका खेलेको छ” भन्नुभयो ।

“शिक्षाले ज्ञान र सामाजिक चेतना प्रवाह गर्दै भातृत्व, सामाजिक सद्भाव र एकताको गहिरो सन्देश दिने भएकाले शैक्षिक संस्था यसमा संवेदनशील बन्नुपर्छ ।” राष्ट्रपति भण्डारीले समाजप्रति सामुदायिक विद्यालयको गहन दायित्व रहेको बताउँदै गुणस्तरीय शिक्षा प्रदान गर्नु विद्यालयको जिम्मेवारी रहेको विचार व्यक्त गर्नुभयो ।

उहाँले गुणस्तरीय, व्यावसायिक र प्राविधिक शिक्षाका लागि विद्यालयको उत्तरोत्तर प्रगतिको कामना समेत गर्नुभयो । राज्यले सार्वजनिक शिक्षामा गरेको लगानीको प्रतिफल प्राप्त हुन नसकेको भन्दै राष्ट्रपति भण्डारीले मुलुकलाई अति कम विकसित राष्ट्रबाट कम आय भएको राष्ट्रमा विकसित गर्ने राष्ट्रिय लक्ष्य रहेको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “बालबालिकालाई उच्चस्तरीय राष्ट्रिय भावनाबाट प्रेरित गर्न शिक्षा क्षेत्र सङ्कल्पित हुनुपर्छ ।”

आदिकवि भानुभक्त माध्यमिक विद्यालय नारायणगढको स्वर्ण महोत्सव मूल समारोहमा मंगलबार सहभागी हुनुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारी । तस्वीर: नारायण अधिकारी, चितवन

राष्ट्रपति भण्डारीले नदी कटानलाई रोकी बालुवा आदि स्रोतको संरक्षण गर्दै नजिकका जमीनको सदुपयोग गर्नुपर्ने औँल्याउनुभयो । ‘‘जलवायु परिवर्तनको प्रतिकूल प्रभाव सर्वत्र परिरहेको सन्दर्भमा नदी कटानलाई व्यवस्थित गरी जलवायु अनुकूलनमा काम गर्न सकिन्छ’’ उहाँले भन्नुभयो ।

सो अवसरमा प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोखरेलले आधारभूत तहको शिक्षा निःशुल्क र अनिवार्य एवं माध्यमिक तहको शिक्षा निःशुल्क बनाउनेतर्फ सरकार लागेको बताउनुभयो । उहाँले शिक्षा जनताको अधिकार भएको बताउँदै शिक्षामा आमूल परिवर्तन गर्नु आवशयक रहेको उल्लेख गर्नुभयो ।

विसं २०२५ मा बालकुमारी कन्या स्कुलको शाखाको रुपमा स्थापना भएको आदिकवि भानुभक्त माध्यमिक विद्यालयमा हाल कक्षा नर्सरीदेखि १२ तथा प्राविधिकतर्फ ४८ जना गरी कूल एक हजार ३६२ जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयको स्वामित्वमा एक बिघा १६ कठ्ठा जग्गा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.