पाकिस्तान राजदूतावासद्वारा १६ थान कम्युटर र प्रयोगशाला सामाग्री सहयोग
चितवन, २३ पुस : नेपालस्थित पाकिस्तानी राजदूतावासले यहाँको एक विद्यालयलाई व्यवस्थापनका लागि आवश्यक सामग्री उपलब्ध गराएको छ । भरतपुर महानगरपालिका–१४ मा रहेको नारायणी विद्यामन्दिर माध्यामिक विद्यालय शिवनगरलाई आज एक समारोहमा ती सामग्री हस्तान्तरण गरिएको हो ।
नेपालका लागि पाकिस्तानी राजदूत डा मजार जाबेदले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुणराज पाठकलाई कम्प्युटर हस्तान्तरण गर्नुभयो । सो अवसरमा राजदूत जाबेद र भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले राजदूतावासले व्यवस्थित गरिदिएको प्रयोगशालाको उद्घाटन गर्नुभएको थियो । सो प्रयोगशालामा कम्प्युटर टेबल, प्रोजेक्टरसहित आवश्यक सामग्री रहेका छन् । प्रयोगशालाका भित्तामा आकर्षक रङ्गहरु लगाइएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत जाबेदले नेपाल र पाकिस्तानबीच भावनात्मक र भातृत्वको सम्बन्ध रहेको बताउनुभयो । राजदूतावासले हरेक वर्ष नेपाली विद्यार्थीलाई रु १० हजार बराबरको छात्रवृत्ति उपलब्ध गराउँदै आएको पनि उहाँले बताउनुभयो ।
सो अवसरमा महानगरपालिका प्रमुख दाहालले दुई देशबीच घनिष्ट सम्बन्ध कायम रहेको भन्दै भौतिक, प्राविधिक र शिक्षाको क्षेत्रमा पाकिस्तानले पु¥याएको सहयोगप्रति आभार प्रकट गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुणराज पाठकको सभापतित्वमा भएको कार्यक्रममा पाकिस्तानी राजदूतावासका राजनीति र शिक्षा हेर्नुहुने काउन्सिलर अबरर अफ्जल, वडा नं–१४ का वडाध्यक्ष ओमप्रसाद पोख्रेल, विद्यालयका प्राचार्य खगराज कँडेललगायतले बोल्नुभएको थियो ।
पाकिस्तानी राजदूतावासले कम्युटर र प्रयोगशाला व्यवस्थापनमा रु १० लाख नेपाली खर्च भएको जनाएको छ । गतवर्ष पनि विद्यालयलाई दूतावासले चार थान कम्युटर उपलब्ध गराएको थियो । सो विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्ममा ७०० जना विद्यार्थी अध्ययनरत छन् ।
विद्यालयको कक्षा ६ देखि ८ सम्म अनिवार्य कम्प्युटर विषय पढाइ हँुदै आएको छ । सो विद्यालय नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अध्ययन र अध्यापन गराएको विद्यालय हो ।

पाकिस्तानले प्रविधि आदान–प्रदान कार्यक्रम अगाडि बढाउने
राजदूत डा मजर जाबेदले नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण सम्बन्धलाई आगामी दिनमा अझ बलियो र सुदृढ बनाउने बताउनुभएको छ ।
भरतपुर महानगरपालिकाले आज उहाँको सम्मानमा आयोजना गरेको कार्यक्रममा राजदूत जाबेदले नेपाल र पाकिस्तानको मैत्रीपूर्ण सम्बन्धलाई अझ बलियो बनाउन भरतपुर महानगरपालिका र पाकिस्तानको कुनै एक शहरसँग भगिनी सम्बन्ध राख्न प्रस्ताव गर्नुभयो ।
पाकिस्तान सरकारले नेपालमा शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा प्रविधि आदान–प्रदानका कार्यक्रम अगाडि बढाउन लागेको पनि उहाँले बताउनुभयो ।
महानगरपालिका प्रमुख रेनु दाहालले नेपालको भौतिक, सामाजिक, सांस्कृतिक र प्राविधिक विकासको क्षेत्रमा मित्रराष्ट्र पाकिस्तानबाट प्राप्त भइरहेको सहयोग आगामी दिनमा पनि निरन्तरता रहने विश्वास व्यक्त गर्नुभयो ।


