अम हुँग गिल ह्युमन फउन्डेशनको चार करोड सहयोगमा विद्यालय भवन निर्माण हुँदै

टेकनाथ न्यौपाने, काठमाडौँ, १२ कात्तिक : पूर्वप्रधानमन्त्री एवम् नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले देश विकास र समृद्धिको मुख्य आधार शिक्षा रहेको बताउनुभएको छ । अम हुँग गिल ह्युमन फाउन्डेशनले आयोजना गरेको विद्यालय भवनको शिलान्यास कार्यक्रममा नेता नेपालले प्रत्येक घरको नागरिक शिक्षित नभएसम्म देश विकास सम्भव नहुने भन्दै सबैलाई शिक्षामा लगानी गर्न आग्रह गर्नुभयो ।

दक्षिण कोरियाका नागरिकसँगको कडा परिश्रम तथा संस्कृति हामी नेपालीले पनि सिक्न लायक रहेको बताउँदै नेता नेपालले कोरियाका विद्यार्थीले गरेको सहयोगलाई एक उपयुक्त अवसर मानी समयको सदुपयोग गर्न सबै नेपाली विद्यार्थीलाई आग्रह गर्नुभयो ।

पूर्वप्रधानमन्त्री नेपालले दुरीको हिसावले कोरिया र नेपाल टाढा भएपनि भावानात्मक सम्बन्ध अत्यन्तै नजिक रहेको बताउँदै मानव कल्याणका लागी दुबै देश मिलेर अघि बढ्नु पर्ने बताउनुभयो । शिक्षामा गरिएको लगानीले देशलाई समृद्ध बनाउन र अशिक्षा र बेरोजगारी हटाउन सहयोग पुग्ने भएकाले दुबै देशले अनुभवहरु एक अर्कामा साटासाट गरेर मानव सेवाभावको विकास गर्न आह्वान समेत गर्नुभयो ।

ह्युमन फाउन्डेशनको आर्थिक सहयोगमा शङ्खरापुर नगरपालिका–३ जहरसिंह पौवा स्थित कालिका शरण माविको १० कोठे विद्यालय भवन, १४ कोठे छात्रावास भवन र एक सामुदायिक भवन आगामी एक वर्षभित्र निर्माण गर्ने योजनासहित आज विद्यालय भवन परिसरमा शिलान्यास गरिएको छ ।

कार्यक्रममा दक्षिण कोरिया छल्ला नाम प्रान्ताका शिक्षा प्रमुख छाङ सक उङ् हुँले तामाङ बस्ती धेरै रहेको काठमाडौँको विकट मानिने यस स्थानमा विद्यालय भवन निर्माणमा सहयोग गर्न पाउँदा अत्यन्तै खुशी लागेको अनुभव सुनाउनुभयो । यो निर्माण कार्यलाई आफ्नै घर सम्झेर सबैले एक एक इँटा थप्ने सौभाग्य आफुहरुलाई मिलेकोमा उहाँले गौरव भैरहेको समेत बताउनुभयो ।

अम हुँग गिल ह्युमन फाउन्डेशनका कार्यकारी निर्देशक अम होंङ गिलले विगत १० वर्षको अवधिमा आफ्नो संस्थाको सहयोगमा १४ वटा विद्यालयको भवन निर्माण सम्पन्न गरिसकेको र तीन वटा निर्माणाधीन अवस्थामा रहेको जानकारी गराउनुभयो । कूल रु चार करोड ३० लाख लागत रहने उक्त विद्यालय भवन दक्षिण कोरियाको छल्ला नाम प्रान्तका विद्यार्थी, शिक्षक तथा स्थानीय अभिभावकले चन्दा सङ्कलन गरी निर्माण गर्न लागिएको हो ।

सन २००८ मा स्थापना भएर २०११ बाट विद्यालयको भवन निर्माण गर्न सुरुवात गरेको फाउन्डेशनले सोलुखुम्बुको नाम्चेमा अस्पताल समेत निमार्ण गरेको जानकारी उक्त अवसरमा दिइयो ।

कार्यक्रममा कोरियाबाट आएका विद्यार्थीले कालिका शरण माविको दीर्घकालीन विकासका लागि आफूहरु सधैँ तयार रहने बताएका छन् । कार्यक्रममा कोरियाबाट ६१ विद्यार्थीसहित ७५ जनाको सहभागी रहेका थिए । संस्थाले उक्त विद्यालयलाई बालबालिकाका लागि खेल्ने सामग्री पनि उपलब्ध गराएको छ ।

शिलान्यास समारोहमा पूर्व शिक्षामन्त्री डा. गंगाधर तुलाधर, प्रदेश सांसद मणिराम फुयाँल तथा रामेश्वर फुयाँल, शंखरापुर नगरपालिकाका उपमेयर शुक्रलक्ष्मी श्रेष्ठ , शिक्षा मन्त्रालयका प्रतिनिधि, ह्युमन फाउन्डेसनका पदाधिकारी, विद्यार्थी तथा अभिभावक सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.