गल्याङ्का ९ सामुदायिक विद्यालयमा बालमैत्री पुस्तकालय स्थापना
स्याङ्जा, २४ भदौ । गल्याङ् नगरपालिका, स्याङ्जाका ९ वटा सामुदायिक विद्यालयमा यहि भदौ महिनामा बालमैत्री पुस्तकालय स्थापना भएको छ ।
प्राथमिक तहमा अध्ययन गर्ने बालबालिकाहरुमा पठन सिप र पढ्ने वानीको विकास गर्दै स्वतन्त्र तथा आत्मनिर्भर पाठक बनाउने उद्देश्यका साथ पालिकाका ९ विद्यालयहरु श्री बज्रेभान्ज्याङ माध्यमिक विद्यालय, श्री गल्कोट माध्यमिक विद्यालय, श्री ज्ञानज्योती आधारभूत विद्यालय, श्री हिमाञ्चल आधारभूत विद्यालय, श्री लखन थापा आधारभूत विद्यालय, श्री नरोदय माध्यमिक विद्यालय, श्री पक्वादी माध्यमिक विद्यालय, शिशुकल्याण माध्यमिक विद्यालय र श्री शिवालय माध्यमिक विद्यालयमा पुस्तकालय स्थापना गरिएको हो ।
गल्याङ नगरपालिकाको साझेदारीता तथा सूर्योदय क्लबको व्यवस्थापनमा पुस्तकालय स्थापना गरिएको हो । हाल प्रति विद्यालय करिव ४ सय वटा बालसाहित्यका पुस्तकहरुका साथ पुस्तकालय सुरुवात गरिएको छ ।
पुस्तकालय स्थापना गर्नको लागि नगरपालिकाले फर्निचर, कार्पेट, कुशन तथा रंगरोगन सहयोग गरेको थियो भने सूर्योदय क्लबबाट तालिम, सामग्री, पुस्तकहरु तथा प्राविधिक सहयोग गरेको थियो । यस पुस्तकालयमा नियमित रुपमा पुस्तकहरु थप गरिनेछ ।
विद्यालयहरुमा शैक्षिक गुणस्तर बढाउनका लागि पुस्तकालय स्थापना गरिएको र आगामी वर्षहरुमा पनि थप विद्यालयमा पुस्तकालय स्थापना गर्दै जाने योजना समेत रहेको गल्याङ नगरपालिकाका शिक्षा शाखा प्रमुख केदार आचार्यले जानकारी गराउनुभयो ।
सूर्याेदय क्लब तथा अन्य स्थानीय तहहरुसँगको साझेदारीतामा जिल्लाका अन्य विद्यालयहरुमा थप पुस्तकालय स्थापना गर्दै जाने सूर्योदय क्लबका अध्यक्ष अनन्त कुमार श्रेष्ठले जानकारी गराउनुभयो ।