काम्यक स्कुलका बिद्यार्थीहरुले नै सञ्चालन गरे बिद्यालय

प्रिन्सिपलको भूमिकामा कक्षा १० का विद्यार्थी जेनिथ थापा मगर । तस्विर साभार : हिमाल प्रेस

शम्भु के. सी. । काठमाडौं २४ भदौं : बिहिबार राजधानीको बागबजारमा रहेको काम्यक स्कुलको माहौल अन्य दिनभन्दा भिन्न, अनौठो र रोमाञ्चक थियो । कारण थियो सधै स्कुलको पोशाकमा झोलाभरी किताब बोकेर आउने कक्षा ९ र १० का विद्यार्थीहरु औपचारिक पोशाकमा आ-आफुले पाएको भूमिका निभाउनमा व्यस्त देखिन्थ्ये । सधैँ बेञ्चमा बसेर पढ्ने विद्यार्थीहरु मार्कर र डस्टर लिएर प्लेग्रुपदेखि कक्षा आठसम्मका विद्यार्थीहरुलाई पढाईरहेका थिए ।

झट्ट सुन्दा नौलो लाग्ने यो समाचार शिक्षकहरुको हड्ताल भएर पो हो कि विद्यार्थीले स्कुल सञ्चालन गनुपर्ने अवस्था आइपरेको भान पनि पर्न सक्छ तर होइन विगत सात बर्षदेखि काम्यक स्कुलले सञ्चालन गर्दै आएको काम्यक स्टुडेण्ट्स डेमा एक दिनका लागि सुरक्षा गार्ड, कार्यालय सहायकदेखि प्रिन्सिपलसम्म सबै भूमिका विद्यार्थीहरुले निभाएका थिए भने सधै पढाउने शिक्षक शिक्षिकाहरु चै पर्यवेक्षकको रुपमा नियालिरहनुभएको थियो ।

विद्यालयको सुरक्षा गार्ड, सहायक, रिसेप्सनिष्ट, क्यान्टिन सञ्चालन, एकाउण्टेन्ट, शिक्षक, डिसिप्लेन इन्चार्ज, कोअर्डिनेटर, सहायक प्रिन्सिपल, प्रिन्सिपललगायतका विविध जिम्मेवारी विद्यार्थीहरु आफै सहभागी भएर विद्यालय सञ्चालन गरेको दृष्य साँच्चिकै हेर्न लायक र रोमाञ्चक थियो । सुरक्षागार्डमा सुलभ हाडा, बिगसन रनपाल र रिमेश भुसाल, प्रिप्राईमरी इन्चार्जमा पलिस्ता श्रेष्ठ, शैक्षिक निर्देशकमा एनी श्रेष्ठ, शिक्षक शिक्षिकामा सुदेना खड्गी, आँचल पाण्डे, दिवस खडगी, भान्सा घरमा गौरी नाथ तथा श्रृष्टि श्रेष्ठ, प्रिन्सिपलमा जेनिथ थापा मगरले जिम्मेवारी बहन गरेको थिए ।

प्रिन्सिपलको भूमिका निभाईरहेका कक्षा १० का विद्यार्थी जेनिथ थापा मगरले समुहमा काम गर्न सिक्ने अवसर प्राप्त भएको, किताबी ज्ञान मात्र होइन व्यवहारिक ज्ञान प्राप्त गर्नुका साथै जिम्मेवारी महसुस भएको आफ्नो अनुभव सुनाउनु भयो । आफ्नो अनुभव सुनाउँदै एक दिनका प्रिन्सिपल बनेका जेनिथले आफु विद्यार्थी हुँदा सहज जस्तो लाग्ने गरेको तर जिम्मेवारी पुरा गर्न भने गाह्रो रहेको अनुभव सुनाउनु हुन्छ । जेनिथ प्रिन्सिपल बन्न लालयित प्रतिष्पर्धी विद्यार्थीहरु मध्येबाट विभिन्‍न छनोट प्रक्रियामा सहभागि भएर प्रिन्सिपलमा छानिनु भएको थियो ।

विद्यार्थीहरुलाई सैद्धान्तिक र व्यवहारिक ज्ञान दिलाउने उद्देश्यले कहिले पाक शिक्षा सिकाउने, कहिले कौसी खेती सिकाउने त कहिले एक दिनको लागी विद्यार्थीहरुले सांसद बनेर संसद चलाउने जस्ता विविध कार्यक्रमहरुको आयोजन गर्ने गरेको काम्यक स्कुलका प्रिन्सिपल धनेश्वर राउतले जानकारी दिनुभयो ।

विद्यार्थीलाई जवाफदेही बनाउने, जिम्मेवारी र कर्तव्य बोध गराउने उद्देश्यले हरेक वर्ष अतिरिक्त कृयाकलाप अन्र्तगतको व्यवहारिक शिक्षा दिने उद्देश्यले यस्ता खालका कार्यक्रमको आयोजना गर्ने गरेको विद्यालयका सहायक प्रिन्सिपल हरि भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2025. All Rights Reserved.