यात्रा शुभारम्भ

टेकनाथ न्यौपाने
अध्यक्ष तथा प्रधान सम्पादक

टेकनाथ न्यौपाने । ७ साउन, काठमाडौं : अहिले आम सञ्चार माध्यमको क्षेत्रमा विगत र वर्तमानमा धेरै परिवर्तन आइसकेको छ । केही वर्ष अघिसम्म मात्र पनि नेपालमा छापा पत्रकारिता सञ्चार माध्यमको एक प्रभावकारी माध्यम थियो । तर अहिले समयले कोल्टे फेरि सकेको छ । विद्युतिय सञ्चार माध्यमको तिब्र विकासले छापा पत्रकारिताप्रतिको रुचि आममानिसहरूमा दिनप्रतिदिन घट्दै गइरहेको छ । संसारभरी जस्तै नेपालमै पनि ‘प्रिन्ट मिडिया’ हेर्ने चलन क्रमशः घट्दो अवस्थामा पुगिसकेको छ । विद्युतिय सञ्चारका माध्यमहरू जस्तैः एफ.एम. रेडियो, टेलिभिजन र अनलाइन पत्रिकाहरूको संख्यामा भने निकै बृद्धि भइरहेको छ ।

इन्टरनेटमा सहज पहुँचले गर्दा समाचारको लागि अनलाइन न्यूज पोर्टलहरू आममानिसहरूको प्राथमिकतामा परिरहेका छन् । नेपालमा पनि अहिले अनलाइन खबर पत्रिकाहरू प्रशस्त मात्रामा देखापरिरहेका छन् ।

मिडिया मिसन नेपालद्वारा सञ्चालन गरिएको अनलाइन समाचार पत्रिका www.mediamissionnews.com लिएर हामी पनि विधिवत् रुपमा आम पाठकहरूमाझ आएका छौं । नाम जस्तै हाम्रो काम पनि मिसन नै छ, हाम्रो मिसन भनेको देशलाई संवृद्धि तर्फ उन्मुख गराउने अभियानमा सहयोगी सिद्ध हुनु र नागरिकमा राष्ट्रियताको भावना जागृत गराउनु हो । हामी सदैव राष्ट्र, समाज र जनतालाई कार्य क्षेत्रको केन्द्रविन्दुमा राखेर सही सूचना प्रवाह गर्दै विश्वासनियता कायम गर्न निरन्तर कटिबद्ध भएर लागी रहने प्रण गर्दछौं ।

सयौं सहयात्रीहरूको भिडमा हामी कसैसँग अस्वस्थ्य प्रतिस्पर्धा गर्न उपस्थित भएका होइनौं, तर पनि अनलाइन पत्रिकाको क्षेत्रमा हाम्रो प्रवेशले आमसञ्चार जगतलाई थप उर्जा मिल्नेछ । साथै ‶राष्ट्र र राष्ट्रियता प्रति समर्पितʺ भन्ने मूलभूत उद्देश्य सहितको हाम्रो आगमनले अन्ततोगत्वा राष्ट्रिय एकता अझ मजबुत हुनेछ भन्नेमा हामी आशावादी छौं । हामी केवल पाठकसमक्ष समाचार पु¥याउने उद्देश्य बोकेरमात्र राज्यको चौथो अंगमा प्रवेश गरेका होइनौं, राज्यका अन्य तीन अंगहरूलाई ‘खबरदारी’ गर्न समेत हाम्रो आगमन भएको हो । सरकारी तथा गैरसरकारी निकायहरूमा भएका भ्रष्टाचार, अनियमितता, बेथिति, ढिलासुस्ती, नातावाद, कृपावाद, कमिसनखोरी जस्ता गलत कार्यहरूको पर्दाफास गर्दै सुशासन सुनिश्चित गर्नेतर्फ समेत हाम्रो प्रयास जारी रहनेछ ।

देशको समसामयिक राजनीतिक, आर्थिक, सामाजिक गतिविधिहरूको बारेमा सत्य–तथ्य समाचारको माध्यमबाट आमजनताहरूलाई सुसूचित गर्नेतर्फ हामी सक्रिय भएर लागिरहने प्रण गर्दछौं । साथै देशका हरेक तह, तप्का, समुदाय, क्षेत्र भित्र घट्ने घट्नालाई निष्पक्षरुपमा संप्रेषण गर्दै हामी ‘तटस्थ’ भूमिका निर्वाह गर्न सदैव प्रयत्नशिल रहनेछौं । मुलधारका छापा तथा विद्युतिय सञ्चार माध्यमहरू कुनै न कुनै राजनीतिक दलको मुखपत्र बनिरहेको सन्दर्भमा हामी दलको मुखपत्र होइन जनताको अभिमत जाहेर गर्ने मतपत्र बन्ने कोसिस गर्नेछौं ।

परिवर्तनका नाममा भएका बिभिन्न आन्दोलनहरू र ततपश्चात्को लामो राजनीतिक संक्रमणकालको अन्त्य पछि अहिले देशमा केही राजनीतिक स्थिरता देखापरेको छ । तथापी देशमा आएको राजनीतिक परिवर्तनले सबै वर्ग, समुदाय तथा क्षेत्रलाई समेट्न सकेको छैन । बेलाबेलामा असन्तुष्टिका स्वरहरू सुनिदै आइरहेका छन् । संघियता मुलुकले थेग्न सक्ने हो कि होइन यसै भन्न सकिने अवस्था छैन । तीनै तहको निर्वाचन पछि बनेको केन्द्र, प्रदेश र स्थानिय निकायका सरकारहरूको एक वर्षे कार्यकाल अवधि मूल्याकंन गर्दा कतैबाट पनि सन्तुष्ट हुनसकिने वस्तुनिष्ठ आधार भेटिदैन ।

राजनीतिक दलहरूले आफ्नो दलगत स्वार्थको लागि जातियताको नारा धेरै उछालेकै कारण सामाजिक सद्भाव खल्बलिने सम्भावना बढ्दोछ । राष्ट्रिय एकता कमजोर बन्दै गइरहेको छ । राष्ट्रियताका मुद्घामा क्रमशः क्षयिकरण भइरहेको छ । यस्तो विषम परिस्थितिमा एउटा आमसञ्चार माध्यमको हैसियतले हामीले कस्तो भूमिका निर्वाह गर्नुपर्छ भन्नेबारे हामी स्पष्ट भएर अगाडि बढ्न जरुरी छ । अतः धर्म, संस्कृति, राष्ट्र र राष्ट्रियताको सवालमा हामी कुनै पनि हालतमा सम्झौता नगर्ने दृढ अठोटका साथ प्रस्तुत भएका छौं ।

कुनैपनि देशको शासन व्यवस्थाको आधार भनेको सुशासन हो । सुशासन भनेको असल शासन हो । असल शासन तबमात्र कायम हुन्छ जब सरकार चलाउनेले जवाफदेहीता, पारदर्शिता र कानूनी शासन बमोजिम सरकार सञ्चालन गर्छ । देशमा शासन व्यवस्था परिवर्तन भएपनि शासन गर्ने शैलीमा गुणात्मक अन्तर देखिन सकेको छैन । जनताले जबसम्म सुशासनको अनुभूति गर्न पाउँदैनन्, तबसम्म देशमा जुनसुकै तन्त्र आएपनि त्यसको कुनै औचित्य रहदैंन । त्यसले केही मुठ्ठीभर नेताहरू र तिनका कार्यकर्ता तथा आसेपासेहरूको मात्र हित गर्नेछ । अतः देशमा सुशासन कायम गराउन समाजमा ‘वाचडग’ को भूमिका निर्वाह गर्दै सरकारका गलत क्रियाकलापहरूको ‘भण्डाफोर’ गर्न हामी किञ्चित पनि हिच्किचाउने छैनौं ।

हाम्रो यो यात्रा त्यति सजिलो पक्कै छैन, मरुभूमीको तातो बालुवा माथिको यात्रा हो भन्ने हामीलाई थाहा छ । तर जसरी संघर्षका लागी मैदानमा उत्रिएको एउटा योद्धाले आफ्नो अगाडी हतियार बोकेर उभिएको दुश्मन देखेर तर्सिन पाउने छैन, त्यसैगरी हामी पनि यात्रा कठिन छ भनेर तर्सिने छैनौं । हामी अटल र दृढ विश्वासका साथ लागी पर्ने छौं । हाम्रो यो कार्यमा हामीलाई हाम्रा सम्पूर्ण शुभ–चिन्तकहरूको सहयोग चाहिन्छ ।

हुनतः हामी र हाम्रा कलमहरूले निकै चोट खाई सकेका छन, कलिलो उमेरमा चाँडै दरिलो भएर बाँच्न त्यति सजिलो छैन । अनेक अबरोधहरू आउनसक्छन्, र जस्तै बाधा–बिघ्न आए पनि हामीलाई धैर्य गराउने काम तपाईं शुभ–चिन्तकहरू कै हातमा हुनेछ भनेर नै हामीले यो यात्रा शुभारम्भ गरेका छौं ।
हामी पनि समाजकै सदस्य भएकोले त्रुटी रहित यात्रा पक्कै हुँदैन, कहिँ कतै त्रुटीहरू हुनगए सल्लाह, सुझाव र सहयोग विद्वान पाठकवर्गहरूबाट पाउने अपेक्षा गर्दै आजबाट यो अनलाइन पत्रिका लिएर यहाँहरू समक्ष उपस्थित भएका छौं ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2025. All Rights Reserved.