मातृभूमिको समृद्धिमा योगदान गर्न आह्वान

काठमाडौँ, १३ साउन : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालको विकास प्रयासमा गैरआवासीय नेपालीको महत्वपूर्ण भूमिका हुने चर्चा गर्दै उनीहरुलाई मातृभूमिको समृद्धि र प्रगतिमा योगदान गर्न आह्वान गर्नुभएको छ ।

तीन वटा युरोपेली मुलुकको भ्रमणमा रहनुभएका मन्त्री ज्ञवालीले लक्जेम्बर्गमा आयोजित एघारौँ युरोपेली क्षेत्रीय बैठक तथा गैरआवासीय नेपाली संघको नवौँ युरोपेली क्षेत्रीय महिला भेलामा नेपालको छवि विश्वसामु उच्च राख्न आग्रह गर्नुभयो ।

उहाँले विदेशमा रहेका नेपालीलाई एकजुट गर्न संघले निर्वाह गरेको भूमिकाको सराहना गर्दै नेपाल सरकारले देशको विकासका लागि प्राथमिकता निर्धारण गरेका क्षेत्रबारे जानकारी दिनुभएको ब्रसेल्सस्थित नेपाली दूतावासले जनाएको छ ।

राजनीतिक उपलब्धिलाई सामाजिक–आर्थिक रुपान्तरणका माध्यमबाट दिगोपना प्रदान’ विषयक प्रवचनमा उहाँले अहिलेको सरकारको प्राथमिकता र नीति नेपालको सामाजिक–आर्थिक रुपान्तरणमा केन्द्रित भएको बताउनुभयो ।

यसैबीच मन्त्री ज्ञवालीले शनिबार युरोपका नौ देशमा रहेका नेपाली राजदूतहरुलाई ब्रसेल्समा एकत्रित गरेर नेपालको छवि अन्तर्राष्ट्रिय जगत्मा प्रवद्र्धन गर्न निर्देशन दिनुभयो । उहाँले नेपालको शान्ति प्रक्रिया र त्यसलाई निष्कर्षमा नेपालले नै पु¥याएको उजागर गर्न आग्रह गर्नुभयो ।

नेपालको विकासलाई केन्द्रमा राखेर कूटनीति सञ्चालन गर्नुपर्नेमा जोड दिँदै उहाँले आर्थिक कूटनीतिलाई राष्ट्रिय हितमा गाँसेर विशेष योगदान गर्न अनुरोध गर्नुभयो ।

युरेपेली संघ, युरोपेली मुलुक संयुक्त, राष्ट्रसंघ र अन्तर्राष्ट्रिय संघ संगठनसँग नेपालको सम्बन्ध सुमधुर तुल्याउन र मुलुकका निम्ति सहायता जुटाउन गम्भीर भएर जिम्मेवारी निर्वाह गर्न मन्त्री ज्ञवालीले राजदूतहरुलाई निर्देशन दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.