राजदूत पाण्डेद्वारा ओहोदाको प्रमाणपत्र पेश

क्वालालम्पुर, ७ चैत : मलेसियाका लागि नवनियुक्त नेपाली राजदूत उदयराज पाण्डेले मलेसियाका राजा अल सुल्तान अब्दुल्लाह रिउइयातुद्दीन अल मुस्ताफा बिला साह समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको छ ।

दरबार इस्तना नेगरामा आज आयोजित एक विशेष समारोहबीच राजदूत पाण्डेले आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको हो । उक्त समारोहलगत्तै उहाँले मलेसियाली राजासँग शिष्टाचार भेट गरी राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली तथा नेपाली जनताकोतर्फबाट राजाको व्यक्तिगत सुख र स्वास्थ्य एवं मलेसियाली जनताको निरन्तर प्रगति तथा समृद्धिको कामना गर्नुभयो ।

भेटमा राजदूत पाण्डेले आफ्नो कार्यकालमा नेपाल र मलेसियाबीच रहेको मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउन प्रयत्न गर्ने बताउनुभयो । उहाँले मलेसियामा ठूलो सङ्ख्यामा रहेका नेपाली श्रमिकको उपस्थिति र दुवैतर्फका पर्यटकको बढ्दो आवतजावतले दुई देशलाई जनस्तरमा जोड्न महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्नुभयो ।

राजदूतले हालैका ऐतिहासिक राजनीतिक परिवर्तनपछि प्राप्त राजनीतिक स्थिरतासँगै नेपाल अब पूर्णरुपमा आर्थिक समृद्धि र विकासमा केन्द्रित भएको पनि बताउनुभएको क्वालालम्पुरस्थित नेपाली दूतावासले जनाएको छ । सो क्रममा मलेसियाली राजाले राजदूत पाण्डेको ओहोदाको प्रमाणपत्र ग्रहण गर्दै सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्नुभएको थियो । उहाँले राजदूत पाण्डेमार्फत नेपालका राष्ट्रपति र नेपाली जनताको सुख, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.