नेपाली श्रमिकका समस्या बारे छलफल

काठमाडौँ, २१ फागुन : दक्षिण कोरियाको सिओलस्थित नेपाली दूतावासले त्यहाँ कार्यरत नेपाली श्रमिकका समस्यामाथि छलफल गर्न आगामी चैत ३ गते ‘स्वेच्छिक घर फिर्ती तथा समसामयिक अन्तरक्रिया’ कार्यक्रम आयोजना गर्ने भएको छ ।

स्थानीय फ्यङ्गथेक माइग्रेन्ट सेन्टरको हलमा हुने सो कार्यक्रममा स्वेच्छिक घर फिर्ती, श्रमिकका समस्या तथा गुनासा र दूतावासले प्रदान गर्ने कन्सुलर सेवाका साथै समसामयिक विषयमा छलफल गरिने दूतावासले जनाएको छ । दूतावासले यसअघि त्यहाँ रहेका नेपाली कामदारको स्वेच्छिक घरफिर्ती, स्वास्थ्य परामर्श, कन्सुलर सेवा, श्रमसम्बन्धी समस्या तथा गुनासाका सम्बन्धमा सरोकारवाला निकायसँग छलफल गर्दै आएको छ ।

यस प्रकारका समस्या न्यूनीकरण गर्न छलफल तथा सुझाव लिने, कार्य अवधि समाप्तिसँगै स्वेच्छिक रुपमा स्वदेश फिर्ताका लागि उत्प्रेरित गर्ने, स्वदेश फर्किएका नेपाली कामदारलाई नेपाल सरकारले उपलब्ध गराउने विभिन्न सेवा सुविधाबारे जानकारी दिने तथा कामदारको गुनासालाई यथासम्भव कार्यस्थलमै गई सुनुवाइ गर्दै आएको दूतावासले जनाएको छ । रोजगार अनुमति प्रणाली (इपीएस) मार्फत कोरिया गएका कामदारलगायत अन्य इच्छुक नेपालीलाई कार्यक्रममा सहभागिताका लागि दूतावासले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.