ब्रसेल्समा राष्ट्रिय प्रजातन्त्र दिवस

काठमाडौँ, ८ फागुन : राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा ब्रसेल्सस्थित नेपाली राजदूतावासद्वारा मङ्गलबार ब्रसेल्समा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको छ ।

गैरआवासीय नेपाली सङ्घका पदाधिकारीलगायत नेपाली सङ्घसंस्थाका प्रतिनिधि तथा बेल्जियम र लग्जेमवर्गमा बसोबास गर्ने नेपालीको उल्लेखनीय सहभागिता रहेको उक्त समारोहमा बेनेलक्सका लागि नेपालका राजदूत लोकबहादुर थापाले प्रजातन्त्रका लागि शाहदत प्राप्त गरेका शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उक्त दिवसका अवसरमा नेपालमा स्थिरता, सुशासन, समृद्धि र विकासको शुभकामना व्यक्त गर्नुभएको थियो ।

नेपाली जनताको लामो सङ्घर्ष र बलिदानबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्ने दिशामा विदेशमा रहेका नेपालीको पनि सहयोग र सहकार्य रहेको उल्लेख गर्दै प्रजातन्त्रलाई दिगो बनाउन वा लोकतन्त्रको जग बलियो बनाउन राजनीतिक स्थायित्वसँगै आर्थिक तथा सामाजिक विकासको गतिलाई तीव्र पार्नुपर्ने र समृद्धितर्फको यात्रालाई निरन्तर अगाडि बढाउनुपर्ने कुरामा राजदूत थापाले जोड दिनुभयो ।

त्यसअवसरमा गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय संयोजन समिति, युरोप संयोजक शिव बरूवालले नेपालमा प्रजातन्त्रको स्थापनाका लागि बलिदान गर्नुहुने शहीदप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै नेपाल प्रजातान्त्रिकरण र स्थायित्वतर्फ अगाडि बढिरहेका सन्दर्भमा व्यापार, लगानी, पर्यटन प्रवद्र्धन र प्रविधि हस्तान्तरणका माध्यमबाट नेपालको आर्थिक समृद्धि सम्भव हुने र त्यसका लागि गैर आवासीय नेपाली सङ्घले योगदान दिन प्रयास गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.