जिसिएम सम्मेलन : आप्रवासी श्रमिकका साझा सरोकार प्रमुख मुद्दा

काठमाडौँ, २१ मङ्सिर (रासस) : नेपालले आप्रवासी कामदारका साझा सरोकारका विषयलाई प्रमुखताका साथ अन्तर्राष्ट्रिय मञ्चमा उठाउने भएको छ ।

मोरक्कोको माराकेसमा यही मङ्सिर २४ र २५ गते हुने सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनका लागि विश्वव्यापी सम्झौता (जिसिएम) सम्मेलनमा नेपालले रोजगारीका लागि श्रमिक शून्य लागतमा गन्तव्य मुलुक जान पाउनुपर्ने तथा सुरक्षित आप्रवासनका विषयमा ध्यानाकर्षण गराउने श्रम मन्त्रालयका उपसचिव दीपक ढकालले जानकारी दिनुभयो ।

आप्रसनका नाउँमा भइरहेको मानव तस्करी, मानव नरशंहारका विषयलाई जोड दिँदै छलफलका क्रममा नेपालले सुरक्षित आप्रवासनका लागि विश्व समुदायमाझ आह्वान गर्नेछ ।

प्रवासी श्रमिकका मानवअधिकार, मर्यादित कामको वातावरण सिर्जना, श्रमिकले पाउने सेवासुविधालगायत विषयमा नेपालले जोड दिनेछ । गत महीना काठमाडौँमा सम्पन्न भएको श्रमिक पठाउने मुलुकको साझा मञ्च ‘कोलम्बो प्रोसेस’ले जारी गरेको २७ बुँदे काठमाडौँ घोषणापत्रमा उल्लेख गरिएका विषय सम्मेलनका क्रममा प्रोसेसको अध्यक्ष राष्ट्रको हैसियतले नेपालले जानकारी गराउनेछ ।

सम्मेलनमा व्यक्त भएका प्रतिबद्धताका आधारमा श्रमिक लिने र दिने मुलुकबीच द्विपक्षीय संवादका लागि वातावरण सिर्जना हुनेछ । सम्मेलनमा संयुक्त राष्ट्र सङ्घका १९३ सदस्य राष्ट्रले सहभागिता जनाउनेछन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले सम्मेलनमा सहभागिता जनाउनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.