मातृभूमिको आर्थिक विकासमा सघाउन आग्रह
काठमाडौँ, २ मङ्सिर : जापानमा स्थायी बसोबास भएका गैरआवासीय नेपालीलाई मातृभूमिको आर्थिक विकासका निम्ति नेपाल सरकारको साझेदार बन्न मन्त्रिपरिषद्का एक जना सदस्यले गरेका छन् ।
जापानको औपचारिक भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले टोकियोमा भएको ‘नेपाल–जापान कूटनीतिक सम्बन्ध’ विषयक कार्यक्रममा नेपाल सरकारको दीर्घकालीन लक्ष्य ‘समृद्ध नेपाल, सुखी नेपाली’ लाई साकार पार्न गैरआवासीय नेपालीको सहायताको अपेक्षा वर्तमान सरकारले गरेको बताउनुभयो ।
नेपालका प्राथमिकता प्राप्त क्षेत्रमा जापानी लगानी, सीप र प्रविधि हस्तान्तरणमा सघाउन आह्वान गर्दै उहाँले सबै गैरआवासीय नेपालीलाई सद्भावनादूतको भूमिका निर्वाह गर्न अनुरोध गर्नुभएको टोकियोस्थित नेपाली दूतावासले जनाएको छ ।
आफ्ना जापानी समकक्षी तारो कोनोको निमन्त्रणामा जापानको पाँच दिवसीय भ्रमणका क्रममा आज बिहान त्यहाँको हनेदा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएका मन्त्री ज्ञवालीलाई जापानका लागि नेपाली राजदूत प्रतिभा राणा, नेपालका लागि जापानी राजदूत मासामिची साइगो तथा जापानको परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूले स्वागत गर्नुभएको थियो ।
