भूकम्प प्रभावित ४०० सम्पदा पुनःनिर्माण 

भूकम्पले क्षति पुगेको काठमाडौँको रानीपोखरीमा अवस्थित बालगोपालेश्वर मन्दिर पुनःनिर्माण गरिंदै । तस्वीर: रोशन सापकोटा

काठमाडौँ, २६ माघ : विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षति भएका ४०० सम्पदाको पुनःनिर्माण सम्पन्न भएको छ । भूकम्पले ३२ जिल्लाका ९२० सम्पदामा क्षति भएको थियो । चालु आवमा १५० सम्पदाको पुनःनिर्माण भइरहेको छ । चालु आवको अन्तिमसम्म भूकम्पले क्षति पुगेका ६० प्रतिशत सम्पदा बनाइसक्ने पुरातत्व विभागको लक्ष्य छ ।

बाँकी ४० प्रतिशत सम्पदा आव २०७८/७९ सम्म सक्ने कार्ययोजना पनि विभागले सार्वजनिक गरेको छ । विभागमा आज आयोजित पत्रकार सम्मेलनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले भ्रमण वर्षका लागि काठमाडौँ, ललितपुर र भक्तपुर दरबार क्षेत्रमा राति पनि घुम्न सकिने व्यवस्था गर्न लागिएको जानकारी दिनुभयो ।

“भक्तपुरमा पर्यटकले राति घुम्न सकिने व्यवस्था गरिसकिएको छ, वसन्तपुर दरबार क्षेत्र र पाटन दरबार क्षेत्रमा पनि छिट्टै यो व्यवस्था गरिँदै छ, उपत्यकाका सम्पदालाई एकापसमा जोड्न लागिएको छ, सम्पदाबीच साइकल लेन पनि बनाउने तयारी छ”, उहाँले भन्नुभयो ।

सम्पदा पुनःनिर्माणमा पुरानै सामग्रीको प्रयोग हुने जानकारी मन्त्री भट्टराईले गराउनुभयो । पुराना सामग्रीले काम नगर्ने अवस्था भएमात्र नयाँ निर्माण सामग्री प्रयोग गरिेने पुराना सामग्रीलाई सङ्ग्रहालयमा राख्ने सरकारको नीति रहेको उहाँले सुनाउनुभयो । पाटनमा यस्तो सङ्ग्रहालय बनिसकेको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण कार्यकारी समिति सदस्य डा चन्द्रबहादुर श्रेष्ठले धरहरा र रानीपोखरी प्राधिकरणले नै बनाइराखे पनि त्यसको स्वामित्व विभागसँगै रहेको जानकारी दिनुभयो । त्रिपुरेश्वरको महादेव मन्दिर क्षेत्र संरक्षणकै लागि काठमाडौँ विश्वविद्यालयलाई गुठी संस्थानले दिएको पनि उहाँले बताउनुभयो ।

विभागका निमित्त महानिर्देशक दामोदर गौतमले प्रदेश नं १ को विराटनगर क्षेत्रमा महाभारतकालीन विराट दरबार र किचकबधको पनि उत्खनन भइरहेको जानकारी दिनुभयो । सम्पदा पुनःनिर्माणमा पुराना निर्माण सामग्री र स्वरुपलाई नबिगारिएको दाबी उहाँले गर्नुभयो ।

विभागका प्रवक्ता रामबहादुर कुँवरले कपिलवस्तु क्षेत्रमा भइरहेको उत्खननले प्राचीन कपिलवस्तु राज्यको राजधानी तिलौराकोट नै भएको तथ्य प्रमाणित गरेको सुनाउनुभयो । भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी नेपालमै पर्नेमा विश्वस्तरमै विवाद नरहेको जानकारीसमेत उहाँले गराउनुभयो ।

विभागका प्रमुख पुरातत्व अधिकृत डा सुरेशसुरस श्रेष्ठले उपत्यकाका विश्व सम्पदास्थलका १७० सम्पदामा गोरखा भूकम्पले क्षति पुगेको जानकारी गराउनुभयो । तीमध्ये हालसम्म १०१ सम्पदाको पुनःनिर्माण सम्पन्न भएको छ ।

विश्व सम्पदा स्थल लुम्बिनीभित्र भइरहेका विभिन्न गतिविधिले त्यहाँको विश्वव्यापी महत्वमाथि पार्न सक्ने नकारात्मक प्रभाव कम गर्न एकीकृत व्यवस्थापन प्रक्रिया स्वीकृतिको लागि आवश्यक तयारी भइरहेको विभागले जनाएको छ ।

दुई वर्षभित्र क्षति भएका सम्पदा पुनःनिर्माण हुने

विस २०७२ वैशाख १२ गतेको गोरखा भूकम्पका कारण क्षति भएका सम्पदा आगामी दुई वर्षभित्रमा पुनःनिर्माण सम्पन्न हुने पुरातत्व विभागले जनाएको छ ।

विभागका निमित्त महानिर्देशक दामोदर गौतमका अनुसार भूकम्पबाट क्षति भएका ९२० वटा सम्पदामध्ये हालसम्म ४०० सम्पदाको पुनःनिर्माण सम्पन्न भएका छन् । बाँकी ४२० सम्पदा आगामी दुई वर्षभित्र सम्पन्न गर्ने तयारी गरी पुनःनिर्माण गरिएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार चालू आर्थिक वर्ष २०७६÷७७ मा १५० सम्पदाको संरक्षण तथा पुनःनिर्माण गर्ने लक्ष्य रहेको छ । चालू आर्थिक वर्षमा ६० प्रतिशत पुनःनिर्र्माण सम्पन्न गर्ने र बाँकी ४० प्रतिशत आगामी दुई वर्षभित्रमा पुनःनिर्माण सम्पन्न गरिनेछ ।

नौ सय २० वटा सम्पदामध्ये पुरातत्व विभागले ७३७ वटा सम्पदा र स्थानीय निकायलगायत अन्य सङ्घ संस्थाबाट १८३ वटा सम्पदा पुनःनिर्माण हुनेछ । चालू आर्थिक वर्षमा स्वीकृत भएका ३८९ सम्पदामध्ये १५० सम्पदा यसै वर्षमा सम्पन्न हुनेछन् ।

तीन सय ८९ सम्पदामध्ये १५३ वटा सम्पदाको पुनःनिर्माण राष्ट्रिय पुनःर्निमाण प्राधिकरण, २९ सम्पदा भारतीय अनुदानमा, २०५ सम्पदा भारतीय एक्जिम बैंकको सहयोगमा र दुई सम्पदा जापान सरकारको सहयोगमा पुनःनिर्माण हुनेछ ।

९ अर्ब १८ करोड खर्च    

पुरातत्व विभागअन्तर्गत पुनःनिर्माण हुने ७३७ सम्पदा पुनःनिर्माणका लागि रु नौ अर्ब १८ करोड ८७ लाख ७१ हजार आवश्यक पर्नेछ । सो मध्ये हालसम्म रु दुई अर्ब ३९ करोड ८१ लाख ४६ हजार खर्च भएको निमित्त महानिर्देशक गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार बाँकी सम्पदा पुनःनिर्माणका लागि आर्थिक वर्ष २०७७÷७८ मा रु एक अर्ब ८१ करोड दुई लाख ८० हजार र २०७८÷७९ मा रु एक अर्ब ८१ करोड दुई लाख ८० हजार गरी रु तीन अर्ब ६२ करोड पाँच लाख ६० हजार बजेट आवश्यक पर्नेछ ।

भूकम्पबाट क्षति पुगेका सम्पदा पुनःनिर्माणमाका लागि पशुपति क्षेत्र विकास कोष, भारतीय अनुदान, एशियाली विकास बैंक (एडिबी), चीन सरकार, जापान सरकार, श्रीलङ्का सरकार, युनेस्को र केभीपिटीको सहयोग रहेको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको आर्थिक सहयोगमा पशुपति क्षेत्र विकास कोषले ६२ सम्पदामध्ये हालसम्म ३५ वटा सम्पदा पुनःनिर्माण सम्पन्न गरेको छ ।

काठमाडौँ उपत्यकाभित्रका सात वटा विश्व सम्पदा क्षेत्रमा क्षति भएका १७० वटा सम्पदामध्येमा हालसम्म १०० सम्पदा पुनःनिर्माण सम्पन्न भएका छन् । त्यस्तै चालू आर्थिक वर्षमा ५४ वटा सम्पदा पुनःनिर्माण सम्पन्न हुनेछ भने १५ वटा सम्पदाको पुनःनिर्माण शुरु नै भएको छैन ।

उपत्यकाकाभित्रका तीन जिल्ला (काठमाडौंँ, ललितपुर र भक्तपुर जिल्ला) मा क्षति भएका ५४० वटा सम्पदामध्ये हालसम्म १६९ वटा सम्पदाको पुनःनिर्माण सम्पन्न भएको छ । त्यस्तै चालू आर्थिक वर्षमा २५३ वटा सम्पदा निर्माण हुनेछ भने १२३ वटा सम्पदाको पुनःनिर्माण नै शुरु भएको छैन ।

विभागका अनुसार देशभरिका ७७ जिल्लामा पुरातात्विक, ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदाको कूल सङ्ख्या पाँच हजार रहेको छ । तीमध्ये पुरातात्विक स्थलको सङ्ख्या ४७० वटा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.