‘नेपाली कम्पनीलाई प्राथमिकता दिनुपर्ने निर्माण व्यवसायीको माग

काठमाडौँ, ८ माघ : निर्माण व्यवसायीले कुनै पनि आयोजनामा बोलपत्र आह्वान गर्दा नेपाली कम्पनीलाई प्राथमिकता दिइनुपर्ने बताएका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घले आयोजना गरेको पत्रकार सम्मेलनमा महासङ्घका पदाधिकारीले सार्वजनिक खरीद विधेयकमा संशोधन गरेर स्वदेशी कम्पनीलाई प्राथकिमता दिनुपर्ने बताएका हुन् ।

महासङ्घका अध्यक्ष रवि सिंहले स्वदेशी कम्पनीलाई प्राथमिकता दिँदै कम कबोल गर्ने विदेशी कम्पनीभन्दा बढी कबोल गरे पनि नेपाली कम्पनीलाई जिम्मेवारी दिनुपर्ने बताउनुभयो । विधेयकमा विदेशी कम्पनीभन्दा बोल अङ्क रकमको पाँच प्रतिशत कम कबोल गर्ने नेपाली कम्पनीलाई जिम्मेवारी दिइने भन्ने व्यवस्था रहेको छ ।

सो व्यवस्था संशोधन गरी ७ दशमलव ५ प्रतिशतसम्म बढी कबोल गर्ने नेपाली कम्पनीलाई प्राथमिकता दिइने व्यवस्था हुनुपर्ने उहाँले बताउनुभयो । स्वदेशी कम्पनी र स्वदेशीसँग जेभी भएका विदेशी कम्पनीको प्रस्तावलाई स्वीकृत गर्ने व्यवस्था हुनुपर्ने उहाँको भनाइ छ । बैंकहरु जसरी नै निर्माण कम्पनी समायोजन हुनसक्ने व्यवस्था हुनुपर्नेमा उहाँको जोड छ । उहाँले भन्नुभयो, “त्यसले गर्दा व्यवसायीको पूँजी र अनुभव दुवै बढ्नेछ ।” महासङ्घका वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेले एउटा कम्पनीसँग पुल र अर्काेसँग सडक निर्माणको अनुभव भए पनि कम्पनीहरु आपसमा समायोजन हुँदा उनीहरुसँग दुवैको अनुभव हुने बताउनुभयो ।

महासङ्घका महासचिव रोशन दाहालले रु दुई करोडसम्मको निर्माणकार्यमा कुनै पनि योग्यता नराखी जुनसुकै व्यवसायी भाग लिन पाउने व्यवस्था भएकामा त्यसलाई बढाएर रु पाँच करोडसम्मको निर्माणकार्य बनाउनुपर्ने बताउनुभयो । महासङ्घका सल्लाहकार रमेश शर्माले विभिन्न जिल्लामा व्यवसायीलाई धम्की दिने र आक्रमणका घटना भइरहेकाले व्यवसायी, कामदार र निर्माण सामग्रीको सुरक्षाप्रति सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.