दिगो र सुरक्षित निर्माण गर्न विज्ञको सुझाव
काठमाडौँ, ४ मङ्सिर : समयमै र गुणस्तरीय निर्माण हुन नसकेकामा असन्तोष बढिरहेका बेला नेपालसहित अन्य १३ मुलुकका विज्ञहरुको सम्मेलनले १२ बुँदे काठमाडौँ घोषणापत्र जारी गरेको छ ।
स्क्याफटले तीन दिनसम्म काठमाडौँमा आयोजना गरेको ‘उज्ज्वल भविष्यका लागि उत्थानशील निर्माण’ विषयक सम्मेलनमा सहभागी विज्ञले खुल्ला प्रतिस्पर्धाका नाममा अति न्यून रकममा ठेक्का दिने व्यवस्था कानूनतः अन्त्य गर्न सुझाव दिएका छन् । उनीहरुले काम गर्नसक्ने दररेटमा प्रतिस्पर्धा गर्नुपर्ने र व्यावसायिक संस्थाले पनि सामाजिक उत्तरदायित्वअन्तर्गत कम्तीमा एक प्रतिशत रकम उत्थानशील संरचना निर्माणमा लगानी गर्नुपर्नेमा जोड दिएका हुन् ।
विज्ञहरुले निर्माण क्षेत्रमा दक्ष कामदारको उत्पादन, निर्माणका प्रत्येक चरणमा सबै सरोकारवालाको सार्थक सहभागिता र नेपालका ठूला आयोजनामा नेपाली परामर्शदाता तथा निर्माण व्यवसायीलाई संलग्न गराउन सके उत्थानशील संरचना निर्माण हुनसक्ने दाबी गरेका छन् ।
नेपालले गोर्खा भूकम्पपछि सिकेका अनुभवलाई विश्व समुदायसम्म पु¥याउन आवश्यक रहेको सम्मेलनका सहभागीहरुको जोड दिइरहेका बेला राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख सुशील ज्ञवालीले धरहरा पुनर्निर्माणसँगै भूकम्प सङ्ग्रहालय बनाउने तयारी गरिरहेको जानकारी दिनुभयो । उहाँले विश्वविद्यालय तहमा छुट्टै अनुसन्धान केन्द्रको स्थापनासमेत गर्न लागिएको बताउनुभयो ।
तीन दिनको सम्मेलन उत्थानशील संरचना निर्माण, यसका चुनौती, जारी प्रयत्न, नवीनतम् प्रविधि र पुरातत्व संरक्षण लगायतका विषयमा केन्द्रित रहेर विज्ञका कार्यपत्र प्रस्तुति रहेको स्क्याफका महासचिव कृष्ण सापकोटाले जानकारी दिनुभयो ।
स्क्याफको २९औँ वार्षिकोत्सवका अवसरमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा अमेरिकास्थित नेपाली इन्जिनीयरहरुको संस्था र सिइएआईसँग स्क्याफले छुट्टा छुट्टै सम्झौता गरेको सम्मेलन व्यवस्थापक ठाकुरप्रसाद शर्माले जानकारी दिनुभयो ।
सम्मेलनको समापनमा समारोहमा स्क्याफका अध्यक्ष राजेश थापाले घोषणापत्रको कार्यान्वयनमा सबै पक्ष जिम्मेवार हुने अपेक्षा गर्नुभयो । सम्मेलनको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्नुभएको थियो ।
