त्रिपुरेश्वर महादेव मन्दिरको गजुर पुनःस्थापना

काठमाडौँ, ३० भदौ : पुनःनिर्माण भइरहेको काठमाडौँको त्रिपुरेश्वरस्थित त्रिपुरेश्वर महादेव मन्दिरको गजुर पुनःस्थापना गरिएको छ । गजुर पुनःस्थापनापछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, नेपालका लागि थाइल्याण्डका राजदूत भकाभत तानस्कुललगायतले आज मन्दिरको अवलोकन गर्नुभयो ।

भूकम्पबाट क्षतिग्रस्त मन्दिर तथा सत्तलको काठमाडौँ विश्वविद्यालयको स्कुल अफ आर्ट्स्अन्तर्गत सङ्गीत विभागले पुनःनिर्माण गरिरहेको छ । विभागलाई थाई सरकारले आर्थिक सहयोग प्रदान गरेको छ । विभागका सहायक प्राध्यापक एवं पुनःनिर्माणका संयोजक डा लोचन रिजालले मन्दिरको करीब ८० प्रतिशत र समग्र गुरुयोजनाको करीब ३५ प्रतिशत काम सम्पन्न भएको जानकारी दिनुभयो ।

विभागले त्रिपुरेश्वर महादेव मन्दिर, चारवटा सत्तल, पूजारी घर, मन्दिर परिसरको बगैँचा र पोखरीलाई पुनःनिर्माण तथा संरक्षण गर्नेगरी गुठी संस्थानसँग सम्झौता गरेको छ । सन् १८१८ मा रानी ललित त्रिपुरासुन्दरीले श्रीमान् रणबहादुर शाहको सम्झनामा सो मन्दिर निर्माण गर्न लगाउनुभएको थियो ।
सिंहदरबार, धरहरा र रानीपोखरीको अवलोकन

यसैबीच प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले सिंहदरबार, धरहरा र रानीपोखरीको पुनःनिर्माणको अवलोकन गर्नुभयो । सिंहदरबारको उत्तर, पूर्व र दक्षिण भागमा प्रबलीकरणको काम भइरहेको छ । प्रबलीकरण आगामी चैतभित्र सम्पन्न गर्ने लक्ष्य छ ।

त्यसैगरी, धरहरा टावरको माथिल्लो बेसमेन्टमा काम भइरहेको छ । पहिले हुलाक कार्यालय रहेको भवन भत्काइँदै छ । स्थानीय जनताको सहजताका लागि टेबहालबाट टुँडिखेल निस्कने नयाँ बाटो पनि खोलिएको छ ।

रानीपोखरी र पोखरीको बीचमा रहेको बालगोपालेश्वरको मन्दिरको पनि पुनःनिर्माण जारी छ । प्रताप मल्लकालीन शैलीमा मन्दिर पुनःनिर्माण गरिँदैछ । प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुनःनिर्माण गर्दा गुणस्तरमा विशेष ध्यान दिन निर्माण व्यवसायी र उपभोक्ता समितिलाई निर्देशन दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.