दाङ–सुर्खेत सडकको स्तरोन्नति तीव्र 

बालाराम खड्का । तुलसीपुर, ११ असार : दाङ–सुर्खेत सडकको स्तरोन्नतिको काम तीव्र गतिमा अगाडि बढेको छ । विगत २२ वर्षदेखि ओझेलमा परेको दाङ–सुर्खेत जोड्ने ६२ किलोमिटर सडकमा कालोपत्रको काम तीव्र गतिमा भइरहेको सडक डिभिजन कार्यालय दाङले जनाएको छ ।

चार वटा ‘प्याकेज’ मा सडकको स्तरोन्नतिको काम शुरु भएको सडक डिभिजन कार्यालय दाङका इञ्जिनीयर क्षितिज पोखरेलले जानकारी दिनुभयो । सडक स्तरोन्नतिको जिम्मा पाएको कालिका कन्ट्रसन प्यासीप जेभीलेकोले दुई वटा ‘प्याकेज’ को काम गरिसकेको छ । अर्को दुई ‘प्याकेज’ को काम करीब ४० प्रतिशत सम्पन्न भएको इञ्जिनीयर पोखरेलले जानकारी दिनुभयो । दाङको तुलसीपुरदेखि हापुरेसम्म सडक कालोपत्रको काम सम्पन्न भएको छ । त्यस्तै हापुरेदेखि सल्यानको एक्लेबरसम्म सडक कालोपत्रका लागि ग्राभेलको काम नियमित भइरहेको छ ।

त्यस्तै कालीमाटीदेखि सुर्खेतको सिमाना काल्चेसम्म पनि बाटो ‘कटिङ’ र सम्याउने काम भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ । सो सडक कालोपत्र गर्ने म्याद २०७८ सम्म रहेको छ । रु ८५ करोडको लागतमा स्तरोन्नतिको काम शुरु भएको इञ्जिनीयर पोखरेलले जानकारी दिनुभयो । दाङदेखि सुर्खेतको बोटेचौरसम्म ७८ किलोमिटर बाटो निर्माण भएसँगै दाङबाट सुर्खेत नेपालगञ्जबाट भन्दा ६५ किलोमिटर यात्रा कम हुने जनाइएको छ ।

“काममा कुनै अवरोध नभए कालोपत्रको काम एक, डेढ वर्षमा सबै काम सम्पन्न हुनेछ”, इञ्जिनीयर पोखरेलले भन्नुभयो । प्रदेश नं ५ र कर्णाली प्रदेशलाई जोड्ने यो सडक कालोपत्र भएमा सुर्खेतको बोटेचौरसम्म चार घण्टामै पुग्न सकिनेछ । सडक जोडिएसँगै दाङको समृद्धिको ढोका पनि खुल्ने यस क्षेत्रका मानिसको भनाइ छ । सडकको स्तरोन्नतिसँगै यहाँबाट सुर्खेत, कालीकोट, जुम्ला, मुगुको रारासम्म पुग्न सहज हुने बताइएको छ ।

निर्माणको कामले गति लिएपछि भने पक्की सडकका कारण सुरक्षित यात्रा गर्न पाइने प्रतिक्षामा पश्चिम दाङवासी रहेका छन् । स्तरोन्नतिसँगै दाङको पश्चिम भेगका बजारको आवादी पनि बाक्लिँदै गएको छ । यसको सो क्षेत्र विकासतर्फ लम्कँदैछ भने कर्णाली क्षेत्रसँग दाङको सिधा सम्पर्क निकै सहज हुने स्थानीयवासी बताउँछन् ।

“दाङको विकासमा यो सडक काशेढुङ्गा सावित हुनेछ”, स्थानीय कृष्णकुमार गिरीले भन्नुभयो । उहाँले भन्नुभयो, “विसं २०४५ मा फरुवा र कोदाली लिएर हामीले बाटोको ‘ट्रयाक’ खोलेका थियाँै, अहिले स्तरोन्नति भएको देख्दा निकै खुशी लागेको छ ।”

सो सडक खण्डमा पहिले यात्रा गर्दा मानिस चिन्न नसक्ने गरी धुलो उड्ने र यात्रामा निकै जोखिम हुने गरेको भुक्तभोगी यात्रुको अनुभव छ । विगतको यात्रामा कष्ट भोगेका अहिले भने यात्रा सहज हुने भन्दै खुशी व्यक्त गर्दछन् । “त्यस्तो सडक यस्तो बन्ला भनेर हामीको कल्पना नै गरेका थिएनाँै तर हाल सडकको धेरै सुधार भएको छ, अब सबै कालोपत्र भयो भने दाङको पनि विकास हुन्छ, प्रदेश नं ५ र कर्णाली प्रदेश जोड्ने यो सडक बन्नु सबैका लागि खुशीको कुरा हो”, स्थानीय रामबहादुर डाँगीले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.