विकासको लय समाउँदै राईगाउँ
रिपेश दाहाल । हेटौंडा, २९ जेठ : मुलुकमा सङ्घीयताको कार्यान्वयनसँगै कतिपय पालिकाले विकासमा निक्कै ठूलो फड्को मारेका छन् । कुनै बेला अत्यन्तै दुर्गम मानिने मकवानपुरको बागमती गाउँपालिकाअन्तर्गतको राईगाउँले पनि सङ्घीयताको कार्यान्वयनसँगै काँचुली फेरेको छ । यहाँको वर्तमान अवस्था हेर्दा सामान्य लागे पनि विगतसँग तुलना गर्दा चामत्कारिक प्रगति गरेको देख्न पाइन्छ राईगाउँले ।
दुई–तीन वर्ष अघिसम्म ट्र्याक्टर पनि लान गा¥हो पर्ने बाटोमा आज जस्तोसुकै सवारी पनि गुड्ने भएको छ । दुई वर्षभित्र ९० प्रतिशत विद्युतीकरण भएको छ । चक्रपथ सञ्चालनमा छ, पक्की गर्ने तयारी हुँदैछ । बृहत् खानेपानी योजनाले पानी खुवाउन शुरु गरेको छ । जलमार्ग निर्माणाधीन छ र परीक्षण स्वरुप ‘मोटरबोट’ सञ्चालनमा ल्याइएको छ । आगामी असोजदेखि पूर्णरुपमा सञ्चालनमा आउने ‘मोटरबोट’ले राईगाउँको पर्यटन विकाससँगै सर्लाही र रौतहटलाई मकवानपुर र सिन्धुलीसँग नजीक बनाउने ठानिएको छ । यी र यस्ता थुप्रै आशाले राईगाउँ थप उत्साहित देखिन्छ ।
पूर्व–पश्चिम राजमार्गको बागमती बजारबाट बागमती नदीमा नवनिर्मित जलमार्ग हुँदै ७ किलोमिटर उत्तर पश्चिम लागेपछि प्राकृतिक रुपले निक्कै नै सुन्दर र मनोरम बागमती फाँट राईगाउँ पुगिन्छ । राईगाउँ पुग्न निर्माणाधीन धरान–चतरा राजमार्गको मकवानपुर तथा सिन्धुलीतिरबाट पनि आधा घण्टा लाग्छ । राईगाउँ निजगढ–काठमाडौँ द्रुतमार्गको छतिवन खण्डबाट ४० किलोमिटर, प्रदेश ३ को राजधानी हेटौंडाबाट ७० किलोमिटर पूर्व बागमती गाउँपालिकाअन्तर्गत पर्ने समथर क्षेत्र हो ।
मकवानपुरको सबैभन्दा होचो भू–भागसमेत रहेको राईगाउँ भौगोलिक विकटताका कारण केही वर्ष अघिसम्म पनि अलग विश्व झै आफैंमा सीमित थियो । अल्पसङ्ख्यक माझी, पहरी र देवास राईहरुको बसोबास रहेको राईगाउँमा तामाङ र मगरहरुको पनि राम्रै बस्ती छ । काभ्रे, ललितपुर तथा सिन्धुलीबाट गएका नेवार तथा ब्राम्हण समुदायका मानिसहरुको भने यहाँ थोरै बसोबास पाइन्छ । यहाँका अधिकाँश राई, पहरी तथा माझी जातिको मुख्य पेशा माछा मार्ने र खेतीकिसानी गर्ने नै हो । पछिल्लो समय बागमतीमा माछा पाउन छाडेपछि भने माछा मार्ने पेशा प्रायः लोप भैसकेको छ । तोरी, मकै र धान मात्र लगाइने यस क्षेत्रमा मलिलो माटो भए पनि अधिकाँश जमीनमा सिंँचाइ सुविधा नहँुदा एक बाली पनि मुश्किलले उत्पादन हुने स्थानीयवासी ज्ञानकुमार राई बताउनुहुन्छ । यहाँ तरकारी तथा फलफूल लगाउने चलन नभएकैले आयातको विकल्प नरहेको उहाँको भनाइ छ । केही वर्षदेखि कसै कसैले आँप, कटहर र लिची जस्ता फलफूलहरु लगाउन शुरु गरे पनि आलु, प्याज लगायत तरकारीहरु लगाउने चलन अझै पनि नभएको उहाँले सुनाउनुभयो ।
धरान–चतरा राजमार्गको निर्माण र स्थानीय तहको निर्वाचन पछि आएका जनप्रतिनिधिहरुको पहलको कारण राईगाउँको मुहार फेरिन थालेको छ । केही वर्ष अघिसम्म पनि राईगाउँको सिधा सम्पर्क रौतहटको क्यान्टिन बजारसम्म मात्र थियो । राईगाउँबाट बागमतीको दश जङ्घार तरेपछि मात्र क्यान्टिन बजार पुगिन्थ्यो । वर्षायाममा पहाडको बाटो ८ घण्टा हिँडेर पुग्नुपथ्र्यो । जिल्लाको सदरमुकाम हेटौंडा जान क्यान्टिन बजारबाट चन्द्रपुर, निजगढ, पथलैया हँुदै जानु पथ्र्यो । आज सिधा फापरबारी, छतिवन हुँदै बढीमा ३ घण्टामा हेटौंडा पुगिन्छ । विकट गाउँबाट शहरीकरणतर्फ उन्मुख राईगाउँमा भूकम्पपछि थुप्रै पक्की घरहरु बनेका छन् । आधुनिक विद्यालय भवनहरु पनि बनिरहेका छन् । गाउँपालिकाले धरान–चतरा राजमार्गबाट राइगाउँ हुँदै महेन्द्र राजमार्ग जोड्ने पक्की सडक निर्माण गर्ने परिकल्पना गरेको छ । यद्यपि, राईगाउँमा तत्काल समाधान गर्नुपर्ने थुप्रै समस्याहरु छन् ।
“मेरो पिलरवाला घर छ, पक्की शौचालय पनि छ तर, धारो छैन, बृहत् खानेपानी योजनाले मेरो घरलाई छोएन, म २० मिनेट जति हिँडेर जरुवाको पानी ल्याउँछु, शौच गर्न खोला छेउ जानुपर्ने बाध्यता छ,” बागमती गाउँपालिका–२ की सुनिता राईले आफ्नो समस्या सुनाउनुभयो ।
“बागमतीपारि पनि बत्ती छ, पल्लो डाँडामा पनि बत्ती छ तर, हाम्रो गाउँमा पोल छ, बत्ती छैन, यो युगमा आएर पनि कसको सरापले हामी बिजुली बाल्नबाट वञ्चित हुनु प¥या हो ?,” भुर्कुस टोलकी लक्ष्मी उप्रेतीले आक्रोश मिश्रित प्रश्न राख्नुभयो ।
“हाम्रो जग्गा धेरै छ, माटोको स्तर राम्रो छ तर, सिँचाइ सुविधा छैन, यो पटक किसानका करोडौंको मकै सिँचाइ अभावका कारण सुक्यो, कृषिका लागि अरबौंको बजेट सुनिन्छ, हामीकहाँ पानी नभएर वर्षमा एक बाली पनि लगाउन पाइएको छैन,” स्थानीयवासी ज्ञानबहादुर राईले दःुख पोख्नुभयो ।
राईगाउँका स्थानीय बासिन्दाका यस्ता थुप्रै समस्याहरु सुनेपछि बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान अबको केही वर्षभित्र नै राईगाउँका तमाम समस्याहरु समाधान हुने विश्वास व्यक्त गर्नुुहुन्छ । आफू निर्वाचित भएर आएदेखि सडकको स्तरोन्नति गरेर यायायात नियमित गरेको तथा बागमती गाउँपालिकाका अधिकाँश ठाउँहरुमा विद्युतीकरण गरेको उहाँले दावी गर्नुभयो । “राईगाउँ शून्यमा थियो अहिले निक्कै माथि पुगिसकेको छ,” उहाँले भन्नुभयो ।
राईगाउँको विकासका लागि यस क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभाका सांंसद कृष्णप्रसाद दाहाल पनि लागिपरेको बताउनुहुन्छ । यस क्षेत्रको पर्यटन विकासका लागि जलमार्गको अवधारणा ल्याइएको उहाँको भनाइ छ । जलमार्गको पूर्ण प्रयोग पछि तराई क्षेत्रका पर्यटकहरु मोटरबोटमार्फत राईगाउँसम्म आउने र यहाँको अर्थिक क्षेत्र चलायमान हुने उहाँको ठम्याइ छ । प्रतिनिधिसभाको अर्थ व्यवस्था समितिका सभापति समेत रहनुभएका दाहाल राईगाउँमा सुन्दर पर्यटकीय पार्क निर्माण गरिने बताउनुहुन्छ । तराई क्षेत्रबाट घुम्न आउने आन्तरिक पर्यटकलाई लक्ष्य गरी ‘पिकनिक स्पट’ सहितको पार्क तथा निजी क्षेत्रबाट बन्ने होटल÷रिसोर्टहरुले यस क्षेत्रमा आर्थिक गतिविधिलालाई बढाउने उहाँको भनाइ छ ।
