पुनःनिर्माण दिगोपनका लागि सहकार्यमा जोड

काठमाडौँ, २८ जेठ : विपद् व्यवस्थापन, पुनःनिर्माण, ऊर्जा र जलवायु परिवर्तनको क्षेत्रमा स्थानीय तहको भूमिकासम्बन्धी दक्षिण एशियाली सम्मेलन सात बुँदे काठमाडौँ कार्ययोजना पारित गर्दै सम्पन्न भएको छ ।

सम्मेलनले दक्षिण एशियामा विपद्पछिको पुनःनिर्माण र पुनःस्थापनामा दिगोपना र समावेशी उत्थानशीलताका लागि केन्द्रीय सरकार र स्थानीय सरकारलाई सँगसँगै सहकार्य गर्न आग्रह गरेको छ । कार्ययोजनामा नेपाल सरकारले स्थानीय तहमा गरेको सुधार र भूकम्पपछिको पुनःनिर्माण तथा पुनःस्थापनामा गरेको प्रगतिलाई मनन गर्दै स्थानीय सरकारलाई राष्ट्रिय कार्य ढाँचा अनुकूल आफ्नै विपद् जोखिम न्यूनीकरण नीति तथा रणनीति बनाउन प्रोत्साहित गर्ने उल्लेख गरिएको छ ।

त्यस्तै, सफा र नवीकरणीय ऊर्जाका प्रावधान सुनिश्चित गर्न जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि समुदायको सबैभन्दा नजिक रहने स्थानीय सरकारलाई संलग्न गराउनुपर्ने आवश्यकता महसुस गर्न सरकारलाई आह्वान गरिएको छ । सम्मेलनले विश्वका मुद्दालाई स्थानीय तहमा लागू गर्नका लागि स्थानीय सरकारको संस्थागत, सङ्गठनात्मक, वित्तीय एवं प्राविधिक क्षमता अभिवृद्धि गर्न सहयोग गर्न आह्वान पनि गरेको छ ।

त्यस्तै, स्थानीय सरकारका नीति निर्माण, योजना तथा निर्णय प्रक्रियामा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण सुनिश्चित गर्न, निर्णय प्रक्रियामा महिला तथा जोखिमयुक्त वर्गको अर्थपूर्ण सहभागिता वृद्धि गर्न राष्ट्रिय, प्रादेशिक तथा स्थानीय तहमा स्रोत उपलब्ध गराउने कार्यको महत्वमाथि जोड दिइएको छ ।

त्यसैगरी, विश्वका मुद्दाहरुको स्थानीयस्तरमा प्रभावकारी कार्यान्वयनका अनुभव तथा सकरात्मक अभ्यास साझेदारी गर्न दक्षिण एशियाका स्थानीय सरकार तथा तिनका सङ्घहरुबीच सहयोग वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपालमा विपद्पछिको पुनःनिर्माण र पुनःस्थापनामा स्थानीय तहसँग सहकार्य गर्दै जिम्मेवारी र अधिकार हस्तान्तरण गरेकाले महत्वपूर्ण उपलब्धि हासिल भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “पुनःनिर्माणमा हामीले स्थानीय तहसँग गरेको सहकार्य अन्तर्राष्ट्रिय रुपमा पनि नमूना हुन सक्छ ।” सम्मेलनको सोमबार गृहमन्त्री रामबहादुर थापाले उद्घाटन गर्नुभएको थियो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, गाउँपालिका राष्ट्रिय महासङ्घ, नेपाल नगरपालिका सङ्घ, युनाइटेड सिटी एण्ड लोकल गभरमेन्ट–एसिया प्यासिफिक र युरोपेली युनियनको संयुक्त आयोजनामा सम्मेलन आयोजना गरिएको हो ।

सम्मेलनमा नेपालसहित भारत, चीन, पाकिस्तान, बङ्गलादेश, इण्डोनेसिया, श्रीलङ्काका स्थानीय तहका जनप्रतिनिधि एवं विज्ञहरुको सहभागिता थियो । आजका सत्रहरुमा नवीकरणीय ऊर्जा, जलवायु परिवर्तनलगायतका विषयमा छलफल गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
info@mediamissionnews.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal