पुनर्निर्माणको ढिलासुस्ती हटाउन माग

काठमाडौँ, १२ वैशाख : भूकम्पपछिको पुनर्निर्माणमा भइरहेको अनियमितता, ढिलासुस्ती र अपारदर्शी क्रियाकलाप हटाउन माग गरिएको छ ।

चौथो भूकम्प स्मृति दिवसका अवसरमा ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआई) नेपालले आज यहाँ आयोजना गरेको सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा अति प्रभावित १४ जिल्लाको काममा ढिलासुस्ती, अपारदर्शिता, अनियमिततालगायत गतिविधि देखिएको जानकारी गराइयो ।

पूर्वसचिव एवं टिआई नेपालका अध्यक्ष खेमराज रेग्मीले भूकम्पले पूर्ण क्षति भएका केही घर अझै नभत्काइँदा असुरक्षाको भाव बढेको, ग्रामीण भेगमा आफ्नै खर्चमा बनेका घरले मापदण्ड पालना नगरेको, धेरै ठाउँमा पीडित परिवारभन्दा लाभग्राहीको सङ्ख्या बढेको भेटिएको जानकारी दिनुभयो ।

विद्यालयमा आवश्यकताभन्दा ठूला भवन निर्माण भएका, विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापक पठनपाठनमा भन्दा बढी निर्माणमा व्यस्त भएका, भूकम्पको चार वर्ष बितिसक्दा पनि सरकारले नमूना बस्ती निर्माण गर्न नसकेको, केही जिल्लामा नीतिगत कमजोरीका कारण बस्नै नहुने साना घर बनेकालगायत समस्या स्थलगत अनुगमनका क्रममा भेटिएको उहाँले बताउनुभयो ।

सहजरुपमा प्राविधिकको उपस्थिति नभएकाले पुनर्निर्माण प्रभावित भएको, भूकम्पपछि लगत्तै घर बनाइएकाले एकमुष्ट अनुदान पाउन नसकेको, जिल्लामा ढिलो बजेट पठाउँदा आर्थिक वर्षमा सक्ने भनी तोकिएका काममा बाधा पुगेको, भूकम्पीय सुरक्षासम्बन्धी ज्ञान र चेतना अभिवृद्धिको प्रयास प्रभावकारी हुन नसकेकाले सुधार गर्न टिआई नेपालले आह्वान गरेको छ ।

भूकम्पबाट अति प्रभावित काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, नुवाकोट, धादिङ, रसुवा, गोरखा, मकवानपुर, सिन्धुली र ओखलढुङ्गामा सम्पर्क कार्यालय स्थापना गरी कार्यक्रम अधिकृत खटाएर भूकम्पपछिको पुनर्निर्माणमा सदाचारका बारेमा अध्ययन गरिएको अध्यक्ष रेग्मीले बताउनुभयो ।

जिल्ला जिल्लाबाट आएका तथ्यलाई चौमासिक रुपमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा जानकारी गराउने गरेकाले सुधार हुने आशा गरिएको जनाइएको छ । ललितपुरमा देखिएको सम्पदा पुनर्निर्माणको तथ्य राख्दै टिआई नेपालका वरिष्ठ अधिकृत बबिता शर्माले ठेचोको ब्रह्मायणी मन्दिर पुनर्निर्माणका क्रममा मूर्ति हराएको, शङ्खमूलको जगतनारायण मन्दिरको निर्माण अवधि तीन महीना मात्र बाँकी रहँदा पनि १० प्रतिशतभन्दा बढी काम हुन नसकेको जानकारी गराउनुभयो ।

टिआईका कार्यकारी निर्देशक आशीष थापा, भक्तपुरका कार्यक्रम अधिकृत जुनु ढकाल, काठमाडौँका कार्यक्रम अधिकृत शारदा नेपाली, विभिन्न सञ्चारमाध्यमका प्रतिनिधिले पुनर्निर्माणमा जनप्रतिनिधिलाई जिम्मेवार बनाइ स्थानीय तहलाई अधिकार दिँदा काम बढी प्रभावकारी हुनेमा जोड दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.