‘सर्भिस ट्र्याक’ को निर्माण ७५ प्रतिशत सकियो

काठमाडौँ, २९ चैत (रासस) : कोटेश्वर–कलङ्की सडकको सबैभन्दा बाहिरी लेन ‘सर्भिस ट्र्याक’ को निर्माण ७५ प्रतिशत सकिएको छ । चिनियाँ सरकारले आठ लेनको सडक निर्माण सकेसँगै नेपाल सरकारले गर्ने भनिएको दुई लेनको काम अहिले धमाधम भइरहेको काठमाडौँ चक्रपथ सुधार योजनाले जनाएको छ ।

दश किलोमिटर लम्बाइको सो सडकमा झण्डै सात किलोमिटर अहिलेसम्म निर्माण भइसकेको योजनामा कार्यरत इञ्जिनीयर निरञ्जन शर्मा अर्यालले बताउनुभयो । आगामी वर्षसम्ममा बाँकी सडक निर्माण सक्ने योजना रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार सडकको मापदण्डभित्रै रहेका घरटहरा नहट्दा काममा बाधा पुगेको छ । उहाँले भन्नुभयो, “यी घरटहरा हटेमा बाँकी काम चाँडो सकिनेछ ।” चक्रपथको भित्र र बाहिरपट्टि गरेर दुवैतर्फको काम भइरहेको इञ्जिनीयर शर्माले बताउनुभयो ।

सो सडकमा मुख्य लेन, सहायक लेन र ‘सर्भिस ट्र्याक’ गरेर तीन लेन छन् । मुख्य र सहायक लेन चार÷चार र ‘सर्भिस ट्र्याक’ दुवैतर्फ एक÷एक गरेर दुई लेनको छ । मुख्य र सहायक गरेर आठ लेन सडक निर्माणको जिम्मेवारी चिनियाँ निर्माण कम्पनी सङ्घाई निर्माण सेवा समूहले लिएको थियो । समूहले गत पुसमा नै नेपाल सरकारलाई सडक हस्तान्तरण गरिसकेको छ ।

सो सडक निर्माणले चक्रपथमा आवतजावत सहज भए पनि सर्भिस ट्र्याक बनिनसकेकाले मुख्य सडकमा छिर्न कठिन भएको स्थानीयवासी बताउँछन् । चीन सरकारले नै अहिले चक्रपथको दोस्रो खण्डका रुपमा कलङ्की–महाराजगञ्ज सडकको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
info@mediamissionnews.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal