उद्यान निर्माणमा कामपा

शर्मिला पाठक । काठमाडौँ, ३ फागुन : काठमाडौँका विभिन्न नगरपालिकाले सार्वजनिक जग्गा संरक्षण र उद्यान निर्माणको काम थालेको छ ।

दश नगरपालिकामध्ये शङ्खरापुर नगरपालिकाले सबैभन्दा बढी जग्गामा उद्यान निर्माणका लागि छिट्टै बोलपत्र आह्वान गर्ने जनाएको छ ।

उक्त नगरपालिकाले वडा नं ९ को बज्रयोगिनी क्षेत्रमा हरित उद्यान निर्माणका लागि १०० रोपनी सार्वजनिक जग्गा पहिचान गरिसकेको छ । उद्यान निर्माणका लागि गत आइतबार कामपाले रु एक करोड प्रदान गरेकोे र त्यसमा अपुग भए नगरपालिकाले नै रकम थप गर्ने नगरप्रमुख सुवर्ण श्रेष्ठले जानकारी दिनुभयो ।

गोकर्णेश्वर नगरपालिकाले रु दुई करोडको लागतमा वडा नं ९ र ४ को ३० रोपनी जमीनमा उद्यान निर्माणसँगै ज्येष्ठ नागरिकका लागि आराम कक्ष, रेलिङसहितको अपाङ्गमैत्री पदमार्ग र बालबालिकाका लागि मनोरञ्जन स्थलसमेत निर्माण गरिने नगरप्रमुख सन्तोष चालिसेले जानकारी दिनुभयो ।

उहाँका अनुसार रु दुई करोडको लागतमा पार्क निर्माणका लागि तयारी गरिएको हो । यसका लागि कामपाले रु एक करोड गत आइतबार प्रदान गरिसकेको छ भने बाँकी रकम नगरपालिकाले नै व्यहोेर्ने छ ।

यसैगरी वडा नं ३ को धाम क्षेत्रमा तारकेश्वर धाम निर्माण गर्ने तयारी तारकेश्वर नगरपालिकाको छ । दश रोपनी जमीनमा निर्माण गर्न लागिएको उक्त धामका लागि नगरपालिकाले पनि यही फागुनको अन्तिम सातासम्म काम शुरु गर्ने नगरप्रमुख रामेश्वर बोहराले राससलाई जानकारी दिनुभयो ।

गत आइतबार काठमाडौँ महानगरपालिकाले छिमेकी नगरपालिकालाई नगर–नगर साझेदारी कार्यक्रमअन्तर्गत सार्वजनिक जग्गा पहिचान र उद्यान निर्माणका लागि प्रत्येक वडालाई रु एक करोडका दरले रकम प्रदान गरेको हो ।

गत आइतबार कामपाले रकम प्रदान गरेको टोखाबाहेकका अन्य नगरपालिकाले तोकिएको समयसीमा भित्रै काम शुरु गर्ने तयारी गरिरहेको बताइएको । उक्त नगरपालिकालाई कामपाले गत वर्ष नै अन्य नगरपालिकालाई सरह रकम प्रदान गरिसकेको थियो ।

कागेश्वरी मनोहरा नगरपालिकाले पनि वडा नं १ को ५५ रोपनी जमीनमा पर्यटकीय कागेश्वरी धाम निर्माण गर्ने भएको छ । वडा नं १, २ र १० समेतलाई समेटी कीर्तिपुर नगरापलिकाले ५५ रोपनी जमीनमा युद्ध स्मारक पार्क निर्माण गर्ने भएको हो ।

बूढानीकण्ठ नगरपालिकाले वडा नं ८ को १४ रोपनी जग्गामा बूढानीलकण्ठ उद्यान निर्माण गर्नेछ । डाँडापौवामा गणेशमानको स्मृति पार्क निर्माणको तयारीमा नागार्जुन नगरपालिका लागिपरेको छ । सो पार्क १७ रोपनी सार्वजनिक जग्गामा निर्माण गर्न लागिएको हो ।

चन्दागिरि नगरपालिकाले वडा नं १३ को २६ रोपनीमा रमणीय उद्यान निर्माण गर्ने छ भने दक्षिणकाली नगरपालिकाले पनि ५ नं वडाको गोरखनाथ मन्दिर वरपर अवलोकन स्तम्भ, बहुद्देश्यीय उद्यान, झरना, बाल उद्यान, प्राचीन दक्षिणकाली स्थलसम्म परम्परागत सिँढी र निर्माण गर्ने भएको छ ।

गत आइतबार टोखाबाहेक नौ नगरपालिकालाई रु एक एक करोडका दरले रकम उपलब्ध गराएको थियो । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले जुनजुन शीर्षकमा सहयोग रकम प्रदान गरिएको हो सोहीअनुरुप नै तोकिएको समयसीमाभित्र विकासको काम काम सम्पन्न गर्न अनुरोध गर्नुभएको छ ।

रकम प्राप्त गरेका सबै नगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ मा काम शुरु गरी आव ७६÷७७ मा सम्पन्न गरी प्रयोगमा ल्याइसक्नुपर्ने सम्झौतापत्रमा उल्लेख छ । सम्झौता अनुसार दोस्रो पक्ष अर्थात् नगरपालिकाहरूले प्रथम पक्ष मानिएको काठमाडौँ महानगरलाई समयसमयमा परियोजनाको प्रगति विवरण उपलब्ध गराउनुपर्नेछ । रकम प्राप्त गरेकै बखतको परियोजनाको नमूनाअनुरुप निर्माणको काम अघि बढाउनुपर्ने कामपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.