काठमाडौँ, ६ पुस : प्रतिनिधिसभा विकास तथा प्रविधि समितिका सदस्यले काठमाडौँ–तराई–मधेश द्रुत मार्ग निर्माणको निरीक्षण गर्नुभयो ।
समितिका सभापति कल्याणीकुमारी खड्काको नेतृत्वमा गएको टोलीमा पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, सांसदहरू, भौतिक पूर्वाधार, रक्षा मन्त्रालयका प्रतिनिधि र नेपाली सेनाका प्रतिनिधिसमेत सहभागी हुुनुहुन्थ्यो ।
निजगढ पुगेको टोलीले दु्रतमार्गको जिरो किलोमिटरदेखि बीचमा पर्ने माउरे, राजदमार, बुदुने, लेनडाँडा तथा मक्खुबेँसीस्थित सेनाको बेस क्याम्पलगायत स्थानमा निर्माणाधीन द्रुतमार्गको निर्माणकार्यबारे जानकारी लिएको थियो ।
सम्बन्धित बेस क्याम्पका प्रमुखले टोलीलाई निर्माणको प्रगति सन्तोषजनक रहेको र लक्ष्य भेटिरहेको जानकारी दिनुभयो । नेपाली सेनाका तर्फबाट आयोजनाका प्रमुख प्राविधिक उपरथी योगेन्द्रबहादुर खाँडले सेनाले लगनशीलताका साथ काम गरिरहेको र काममा कुनै पनि अवरोध नभएको बताउनुभयो ।
विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार नभइसके पनि काममा बाधा नपरेको उहाँले बताउनुभयो । उहाँले दु्रतमार्गको लम्बाइ ७६.२ किलोमिटरमध्ये ललितपुरमा तीन किलोमिटर क्षेत्रमा मात्र समस्या रहेको बताउनुभयो ।
पूर्वप्रधानमन्त्रीद्वय खनाल र नेपाल तथा समिति सभापति खड्कासँग स्थानीय बासिन्दाले द्रुतमार्ग बनिरहेकामा खुशी व्यक्त गर्दै स्थानीय जनताको सरोकारलाई सम्बोधन गरी द्रुतमार्ग निर्माण हुनुपर्ने बताउनुभएको थियो ।
टोलीमा सांसद अनिलकुमार झा, प्रभु साह, इन्दुकुमारी शर्मा, गणेशकुमार पहाडी, दामोदर भण्डारी र देवप्रसाद तिमिल्सिना सहभागी हुनुहुन्थ्यो । समितिका सभापतिलगायत सदस्यले द्रुतमार्गको निर्माण सन्तोषजनक पाइएकामा धन्यवाद व्यक्त गर्दै निर्माणलाई थप प्रभावकारी रुपमा लैजानुपर्नेमा जोड दिनुभएको थियो ।