सडक निर्माणमा स्थानीयवासीको अवरोध
भीमदत्तनगर, ५ पुस : महाकाली नदीमा निमार्णाधीन चार लेनको पक्की पुलसँगै बन्न लागेको ६ लेनको सडक निर्माणमा स्थानीयवासीले अवरोध गरेका छन् ।
भीमदत्तनगरपालिका–१२ ओदालीदेखि उत्तरतर्फ गड्डाचौकीसम्म निर्माण भइरहेको सडकको ग्राभेल र माटो भरान गर्न भीमदत्तनगरपालिका–११ भुजेलाका बासिन्दाले बाधा पु¥याएका हुन् । घरको मुआब्जा रकम कम भएको भन्दै स्थानीयवासीले तीन दिनदेखि सडक निर्माण गर्न दिएका छैनन् । निर्माण कम्पनी कुमार सिएसइसी जेभीका इञ्जिनीयर किशोरराज पाण्डेयले सडकमा ग्राभेल र माटो भरान गर्न नसकिएको बताउनुभयो ।
“अधिकांश जग्गाधनीले जग्गाको मुआब्जा लिइसकेका छन, केहीले मात्र रकम कम भयो भन्दै काममा अवरोध गरेका छन्,” इञ्जिनीयर पाण्डेयले भन्नुभयो, “भुजेलादेखि गड्डाचौकीसम्मको क्षेत्रमा काममा अवरोध भएको छ ।” निर्माण कम्पनीले महाकाली पुलसँगै पहुँचमार्गअन्र्तगत दोधारा–चादँनीतर्फ समेत सडक खन्ने कामलाई तीव्र पारेको छ ।
“बाढीका कारण दोधारा–चाँदनीतर्फको सडक निर्माणमा समस्या भएको थियो, अहिले सहज भएको छ,” उहाँले भन्नुभयो । भीमदत्त नगरपालिकातर्फ ६ किलोमिटर तथा दोधारा–चादँनीतर्फ डेढ किलोमिटर सडक निर्माण गरिँदैछ । भुजेलास्थित शिव टोलका प्रकाश थापाले घरको कम मुआब्जा दिएको गुनासो गर्नुभयो । “घरको मुआब्जा रकम बढाउनुपर्छ,” उहाँले भन्नुभयो । तीस घर रहेको शिव टोलका बासिन्दालाई महाकाली पुल योजना कार्यालयले प्रतिघर रु १५ लाख २३ हजारदेखि रु १९ लाख २३ हजारसम्म मुआब्जाको मापदण्ड निर्धारण गरेको थियो ।
