क्याञ्जिनमा चिज केन्द्र भवन पुनःनिर्माण
रसुवा, ४ मङ्सिर : पर्यटकीय क्षेत्र लाङ्टाङको क्याञ्जेनमा चिज उत्पादन केन्द्र भवनको पुनःनिर्माण भएको छ ।
समुद्री सतहदेखि तीन हजार ९०० मिटरको उचाइमा अवस्थित क्याञ्जेनमा भूकम्पपछिको पुनःनिर्माणअन्तर्गत नेपालस्थित स्विट्जरल्याण्ड राजदूतावासले निर्माण गरेको हो । भवन निर्माण अशोककुमार घिमिरे प्रबन्धक निर्देशक रहेको लहरेपौवा निर्माण सेवा प्रालिले गरेको हो ।
रु एक करोड ७० लाखको लागतमा निर्मित सो भवनको नेपालका लागि स्विस राजदूत एलिसाबेथ भोँ क्यापेलर र दुग्ध विकास संस्थानका महाप्रबन्धक ईश्वरी न्यौपानेले उद्घाटन गर्नुभयो । सो अवसरमा राजदूत क्यापेलरले आगामी दिनमा पनि प्राङ्गारिक चिज उत्पादन केन्द्रलाई सहयोगलाई निरन्तरता दिइने आश्वासन दिनुभयो । महाप्रबन्धक न्यौपानेले किसानलाई दूध उत्पादनमा प्रोत्साहन दिइने बताउनुभयो ।
स्विस राजदूतावासले सो भवन आजै संस्थानलाई हस्तान्तरण गरेको छ । केन्द्रमा उत्पादन, गुणस्तर परीक्षण, भण्डार र वितरण कक्ष हुनाका साथै कर्मचारी आवास पनि निर्माण गरिएको छ । स्विस सरकारको सहयोगमा विसं २००९मा स्थापित सो केन्द्र नेपालकै जेठो चिज केन्द्र हो । केन्द्रले वार्षिक पाँच–छ हजार केजी चिज र एक हजार पाँच सय केजी नौनी उत्पादन गर्छ ।
