व्यक्तिगत खर्चमा तीन तले पुल निर्माण
कावासोती, १ मङ्सिर : नवलपरासीको मध्यबिन्दु नगरपालिका–२ सेहरी र वडा नम्बर ६ भडरा जोडने गरी उल्टी खोलामा तीन तले पुल निर्माण गरिएको छ ।
समाजसेवी लक्ष्मी ज्ञवालीले व्यक्तिगत खर्चमा रु एक करोड पाँच लाख पाँच हजार ५५ को लागतमा पुल निर्माण गर्नुभएको हो । पुलको पहिलो तलामा सवारी तथा दोस्रो तलामा साइकल, मोटरसाइकल चलाउन र पैदलयात्री हिँड्न मिल्ने गरी निर्माण गरिएको छ ।
तेस्रो तलामा आपत्कालीन अवस्थामा बस्न मिल्ने र अवलोकन गर्न मिल्ने गरेर पुल निर्माण गरिएको निर्माणकर्ता ज्ञवालीले बताउनुभयो । नब्बे फिट लम्बाइ र २८ फिटको उचाइ रहेको पुलको माथिल्लो तलामा शौचालय तथा खानेपानीको व्यवस्था गराइने उहाँले जानकारी दिनुभयो ।
