काष्ठमण्डप पुनःनिर्माणमा टिम्बर कर्पोरेशनले काठ उपलब्ध गराउने

काठमाडौँ, १६ कात्तिक : ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको काष्ठमण्डप पुनःनिर्माणका लागि दि टिम्बर कर्पोरेशन अफ नेपाल लिमिटेडले १७ हजार क्यूफिट काठ उपलब्ध गराउने भएको छ । विसं २०७२ वैशाखमा गएको विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको पुनःनिर्माणका लागि सोही मात्रामा कर्पोरेशनले काठ उपलब्ध गराउन लागेको हो ।

काष्ठमण्डप पुनःनिर्माणका लागि काठ उपलब्ध गराउने बारेमा काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्य र कर्पोरेशनका महाप्रबन्धक राजु लौडारीबीच समझदारीपत्रमा हस्ताक्षरसमेत भइसकेको छ । काठैकाठबाट बन्ने काष्ठमण्डप पुनःनिर्माणका लागि लामो र ठूलो काठ आवश्यक पर्दछ । कर्पोरेशनका महाप्रबन्धक लौडारी बजारमा सामान्यतया १० फिट लामो काठ पाइने भएपनि काष्ठमण्डप पुनःनिर्माणका लागि ३८ फिट लामो काठ आवश्यक पर्ने बताउनुहुन्छ ।

“काष्ठमण्डप पुनःनिर्माणका लागि लामो र ठूलो काठ आवश्यक पर्ने भएकाले सोहीअनुसार कटान र ढुवानी गर्नका लागि समझदारी गरेका हौँ”, महाप्रबन्धक लौडारीले भन्नुभयो । काष्ठमण्डप पुनःनिर्माणका लागि विशेषखालको काठ विशेष ढङ्गले कटान गर्नुपर्ने उहाँको भनाइ थियो ।

काष्ठमण्डप पुनःनिर्माण दुई वर्षमा सक्ने गरी कार्ययोजना बनाएर अगाडि बढिसकिएको पुनःनिर्माण समितिका अध्यक्ष शाक्यले बताउनुभयो । काठ दाउरा सङ्कलन, चिरान, उत्पादन तथा आपूर्ति, दाहसंस्कार र धार्मिक प्रयोजनका लागि दाउरा आपूर्तिमा महत्वपूर्ण भूमिका खेलेको कर्पोरेशनले भूकम्पबाट भत्केका घर पुनःनिर्माणमा समेत उपलब्ध गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.