उपत्यकामा कोरोना सङ्क्रमणको जोखिम उच्च, सतर्कता अपनाउन सरकारको अपिल

सञ्चार तथा सूूचना प्रविधि मन्त्रालयमा नेपाल सरकार मन्त्रिपरिषदको निर्यण सार्वजैनिक गर्दै सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली । तस्बिर: रोशन सापकोटा

काठमाडौँ, २१ असोज : काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमणको जोखिम उच्च रहेको औँल्याउँदै सरकारले उच्च सतर्कता अपनाउन उपत्यकावासीमा अपिल गरेको छ ।

यही असोज १९ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मुलुकको अन्य भूभागमा कोरोनाको प्रकोप विस्तारै नियन्त्रणउन्मुख हुँदै गए पनि काठमाडौँ उपत्यका अझै पनि उच्च जोखिम कायम रहेको बताउनुभयो ।

“हाल प्रत्येक दिन देखिने कूल सङ्क्रमितमध्ये आधाभन्दा बढी सङ्क्रमितको सङ्ख्या उपत्यकामा रहेको छ । अहिलेसम्म उपत्यकामा कोरोना सङ्क्रमण नियन्त्रण उन्मुख नदेखिएको हुनाले काठमाडौँवासीले असाध्यै धेरै सतर्कता अपनाउनुपर्ने जरुरी छ”, उहाँले भन्नुभयो, “झण्डै ४० लाख बसोबास गर्ने उपत्यकामा यदि सङ्क्रमण अनियन्त्रित भयो भने त्यसले हामीलाई निकै ठूलो जोखिममा पु¥याउनसक्ने अवस्था छ ।”

मन्त्री ज्ञवालीले काठमाडौँवासीलाई आफूले सेवा दिँदा वा लिँदा, व्यवसाय सञ्चालन गर्दा वा सहयोग पु¥याउँदा, सार्वजनिक यातायात वा निजी सवारीसाधनमा हिँडडुल गर्दा तथा अन्य कुनै प्रकारको गतिविधि गर्दा कोरोनाको उच्च जोखिमलाई ध्यानमा राखेर सतर्कता अपनाउन विशेष आग्रह गर्नुभयो ।

“देशैभर क्रमशः कोरोना सङ्क्रमण घट्दै गरेको अवस्थामा काठमाडौँ उपत्यकाको अवस्था अझै पनि उच्च जोखिममा छ । यो कुरालाई ध्यानमा राख्न सरकारकोतर्फबाट विशेष आग्रह गर्दछु”, उहाँले भन्नुयभो । नेपालीको सबैभन्दा ठूलो चाड वडादशैँ नजिकिँदै गरेको अवस्थामा कोरोनाको थप जोखिम बढ्नसक्ने औँल्याउँदै उहाँले स्वस्थ्य आगामी दिनमा पनि यस्ता पर्व मनाउन सकिनेतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।

“दशैँको महत्वपूर्ण पक्ष भनेको पारिवारिक पुनर्मिलन र अग्रजबाट शुभाशिष लिने हो, तर यस्तो अवस्थामा परिवारका ज्येष्ठ सदस्यको स्वास्थ्यमा प्रतिकूल असर पर्नसक्छ । त्यसो हुनाले दशैँ मनाउँदा आफ्ना अभिभावकको सुरक्षा संवेदशनीलतालाई असाध्यै ध्यानमा राख्न जरुरी छ”, मन्त्री ज्ञवालीले भन्नुभयो ।

विगतमा जस्तो गाउँगाउँबाट काठमाडौँ ओहोरदोहोर गर्दा सङ्क्रमण फैलने जोखिम उच्च हुने भन्दै उहाँले टेलिफोनमार्फत आर्शिवाद लिन सकिने बताउनुभयो । “परिवारका ज्येष्ठ सदस्य सुरक्षित रहनुभयो भने यस्ता अवसर पटकपटक आउँछन्”, उहाँले भन्नुभयो, “तर हाम्रो सानो लापरवाहीले उहाँहरुको स्वास्थ्यमा ठूलो जोखिम बढ्न सक्छ ।”

नेपालमा पछिल्लो समय ६० वर्ष मुनिका व्यक्तिमा कोरोना सङ्क्रमण दर र मृत्युदर तुलनात्मकरुपमा कम देखिएको छ । केही दिनयता नेपालमा कोरोनाका कूल सङ्क्रमितको आधाभन्दा बढी सङ्ख्या काठमाडौँ उपत्यकामा देखिन थालेको छ ।

सबै प्रकारका परीक्षा गर्न सरकारको सैद्धान्तिक स्वीकृति

सरकारले जनस्वास्थ्य एवं सुरक्षासम्बन्धी मापदण्डको पूरा पालना गर्ने गरी यसअघि रोकिएका सबै तह, विषय र प्रकृतिका परीक्षा सञ्चालन गर्न सैद्धान्तिक स्वीकृति दिएको छ । यही असोज १९ गते बसेको मन्त्रिपरिषद् बैठकले सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहबाट जारी स्वास्थ्य मापदण्ड पूरा पालना गर्ने गरी परीक्षा सम्बद्ध आयोग, विश्वविद्यालय, प्रतिष्ठान, बोर्ड, परिषद्, विद्यालय तथा शिक्षण संस्थालाई परीक्षा सञ्चालन गर्न स्वीकृति दिएको हो ।

बैठकले जनस्वास्थ्यका मापदण्ड पालना गरी व्यावसायिक तालीम प्रदायक संस्थालाई २५ जनाभन्दा कम सहभागी हुने छोटो अवधिको व्यावसायिक तालिम सञ्चालन गर्न अनुमति दिने निर्णय गरेको सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो । बैठकले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति (गठन) आदेश, २०७५ संशोधन गर्ने तथा मन्त्रिपरिषद्को गत वैशाख १४ गतेको निर्णयबाट स्थगन भएको राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीको पदपूर्तिसम्बन्धी प्रक्रियालाई सञ्चालन गर्ने स्वीकृति दिने निर्णय गरेको छ ।

यस्तै शिक्षक सेवा आयोगका अध्यक्ष र एक महिलासहित अन्य दुई सदस्यको नियुक्तिका लागि सिफारिश गर्न लोकसेवा आयोगका अध्यक्षका अध्यक्षतामा त्रिभुवन विश्वविद्यालयका उपकुलपति र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सदस्य रहेको सिफारिश समिति गठन गर्ने निर्णयसमेत गरेको छ ।

बैठकले कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अध्यक्षमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा योगेन्द्रकुमार कार्कीलाई तोक्ने र कार्यकारी निर्देशकमा वरिष्ठ कृषि अर्थ विज्ञ विनोदकुमार भट्टराईलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

साउदी अरबको जेद्दामा रहेको राजपत्राङ्कित प्रथम श्रेणी (प्रशासन समूह), सहसचिवस्तरको दरबन्दी चीनस्थित नेपाली महावाणिज्यदूतावास छेन्दुमा स्थानान्तरण गर्ने, राष्ट्रपति कार्यालयको सङ्गठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत २०७७/०७८ का लागि राष्ट्रिय सूचना प्रविधि केन्द्र काठमाडौँका लागि सात र ‘डिजास्टर रिकभरी’ केन्द्र हेटौँडाका लागि नौसहित १६ तथा विज्ञापन बोर्डको आर्थिक वर्ष २०७७/०७८ का लागि पाँच अधिकृतस्तरको अस्थायी दरबन्दी स्वीकृत गरिएको छ ।

यसैगरी अवैतनिक वाणिज्यदूतसम्बन्धी (पाँचौँ संशोधन) नियमावली, २०३९ मा भएको व्यवस्थाबमोजिम केही अवैतनिक महावाणिज्यदूतको पदावधि थप गरिएको छ । इरानको तेहरानमा कार्यरत अवैतनिक महावाणिज्य दूत शाहरम शान्तियाइ, मलेसियाको सेलेङ्गार शहरमा कार्यरत अवैतनिक वाणिज्यदूत तोयो स्वी लेङ, इण्डोनेसियाको जाकार्तामा कार्यरत अवैतनिक वाणिज्यदूत बल्ली सुपुत्र जनो सती, इजरायलको हाइफा र वीरशेभा शहरमा कार्यरत अवैतनिक वाणिज्यदूत क्रमशः निमरड वर्ग र इयान नीरको पदावधि आगामी चार वर्षका लागि थप गर्ने निर्णय गरिएको परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिनुभयो ।

यस्तै अमेरिकाका इलिनोइस, मेरिल्याण्ड र ओहियो शहरमा कार्यरत महावाणिज्यदूत क्रमशः मरभिन ए ब्रस्टिन, प्रेमराजा महत र डा विलियन सी, क्यासेल तथा अमेरिकाकै हवाई र सियाटल शहरमा अवैतनिक वाणिज्यदूतमा कार्यरत क्रमशः मेरी सी क्यारोल र एसी शेर्पाको अवधि आगामी चार वर्षका लागि थप गर्ने निर्णय गरिएको बताइएको छ ।

यसैगरी बेल्जियमको फ्ल्याण्डर्स क्षेत्रमा इन्ग्रिड सेस्टर्स–ल्युटेनलाई आगामी चार वर्षका लागि अवैतनिक नेपाली वाणिज्यदूतमा नियुक्त गर्ने, ग्रीसको एथेन्स शहरमा अवैतनिक वाणिज्यदूतमा कार्यरत इम्मानोइल काराभेलाकिसको पदावधि आगामी चार वर्षलाई थप गर्ने र निजलाई महावाणिज्यदूतमा पदोन्नति गर्ने निर्णय भएको छ । यस्तै लेबनानको बेरुत शहरमा अवैतनिक वाणिज्यदूतमा कार्यरत एलशेख मोहमद वासम गोजायललाई प्रशंसनीय कार्य गर्दै आइरहेकाले महावाणिज्यदूतमा पदोन्नति गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.