नेकपाका अध्यक्षद्वयबीच छलफल, निष्कर्ष भने शुन्य

प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता गर्दै ।

काठमाडौँ, ४ साउन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पार्टीभित्र देखिएका समस्या समाधानका विषयमा आज पनि छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा पार्टीभित्रको पछिल्ला घटनाक्रम तथा समसामयिक विषयमा कुराकानी भए पनि कुनै निष्कर्ष भने निस्कन सकेको छैन । छलफललाई निरन्तर अगाडि बढाउने विषयमा दुई अध्यक्षबीच सहमति भएको अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभयो ।

शनिबार बसेको सचिवालयको बैठकमा पार्टीमा देखिएको आन्तरिक सङ्कटलाई सहमतिको आधारमा टुङ्ग्याउन थप छलफल गर्ने निर्णय गरेको थियो । बैठकमा अहिलेको राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्ने गरी पार्टीको आन्तरिक सङ्कटलाई सहमतिका आधारमा सम्बोधन र समाधान गर्नेबारेमा छलफल भएको थियो । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली र अर्का अध्यक्ष दाहालबीच छलफल भए पनि आजका लागि तय भएको स्थायी कमिटीको बैठक भने यही साउन ६ गतेसम्मका लागि स्थगित भएको छ ।

यस्तै अध्यक्ष दाहालले आजै पार्टीभित्र देखिएको समस्या समाधानका लागि वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतसँग पनि छलफल गर्नुभएको थियो । यस्तै महासचिव विष्णुप्रसाद पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मासँग पनि अध्यक्ष दाहालले कुराकानी गर्नुभएको थियो ।

नेकपा बैठक साउन ६ गते

आजका लागि तोकिएको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक यही साउन ६ गते बिहान ११ बजेसम्मका लागि सरेको छ ।

दलको आन्तरिक विषयमा सचिवालय र शीर्षनेताहरु छलफलमा रहनुभएकाले बैठक सर्दै आएको छ । नेकपा केन्द्रीय कार्यालयले आज विज्ञप्ति जारी गरी बैठक मङ्गलबार सरेको जानकारी दिएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.