इजरायलमा फसेका नेपालीलाई फिर्ता ल्याउन नेपाल एयरलाइन्सको जहाज जाँदै

काठमाडौं, २४ असोज : इजरायलमा फसेका नेपालीलाई नेपाल फिर्ता ल्याउन नेपाल एयरलाइन्सको जहाज जाने भएको छ। 

बुधबार राति ११ बजे नेपाल एयरलाइन्सको जहाज उड्न लागेको छ।

दुबईमा ट्रान्जिट गरी इजरायलका लागि नेपाल एयरलाइन्सको जहाज उड्न लागेको हो।

घर फर्किन चाहने नेपालीहरू ३५० भन्दा बढी तेल अभिभस्थित नेपाली दूतावासको सम्पर्कमा छन्। 

प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासको आक्रमणबाट १० जना नेपालीको मृत्यु समेत भएको छ। 

उक्त समूहको आक्रमणबाट कञ्चनपुरको महेन्द्रनगरका विपिन जोशी बेपत्ता छन्।

उनका साथीहरूको सहयोगमा तेल अभिभस्थित नेपाली दूतावासले विभिन्न अस्पतालमा विपिनको खोजी गरिरहेको छ। 

दूतावासले बुधबार बिहान परराष्ट्र मन्त्रालयलाई अस्पतालहरूमा खोजी गर्दा विपिन घाइते अवस्थामा फेला नपरेका र खोजीका लागि इजरायली प्रहरीको सहयोग मागिएको जानकारी गराएको छ।

‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत गत भदौ अन्तिम साता विपिन इजरायल गएका थिए। हमासको आक्रमणपछि उनीहरूले तत्काल उद्धार गर्न आग्रह गरिरहेका छन्। 

पररा‍ष्ट्र मन्त्रालयका अनुसार चार हजार पाँच सय जना केयरगिभरको रूपमा र २६५ विद्यार्थी गरी  ४ हजार  ७६५ जना नेपाली छन्। 

इजरायलमा मारिएका १० जना नेपालीको शव ल्याउन केही ढिलाई हुने

इजरायलमा मारिएका १० जना नेपालीको शव ल्याउन केही ढिलाई हुने भएको छ । परराष्ट्र मन्त्रालयले बुधवार अपरान्ह पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो ।

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले इजरायल सरकारले शव हस्तान्तरण गरेपछि मात्रै सो शव नेपाल ल्याउन सकिने बताए । उनले उनीहरुको शव छिटो ल्याउन सरकारले सहकार्य गरिरहेको र अहिले ती शवहरु इजरायल सरकारको संरक्षणमा सुरक्षित रहेको स्पष्ट पारे ।

‘२८८ जना भन्दा बढीले नेपाल फर्कन चाहनुभएको छ । नेपाल फर्कन चाहनु हुनेहरुका लागि नेपाल एयरलाईन्सको २५० सिट क्षमता भएको बाईडबडी विमान आज रातिनै इजरायल प्रस्थान गर्दैछ । इजरायलबाट नियमित वायुसेवा पनि चलिरहेकाले फर्कन इच्छुक नेपालीहरुलाई नेपाली दुतावासले सहजीकरण गर्ने व्यहोरा पनि म यहाँहरुलाई अवगत गराउन चाहन्छु ।’

प्रवक्ता लम्सालले घाइते अवस्थामा रहेका ४ जनामध्ये २ जना अस्पतालबाट डिस्चार्ज भएको पनि जानकारी दिइन् । अन्य २ जनाको भने उपचार जारी रहेको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ ।

लम्सालले भनिन्, ‘घाइते ४ जना मध्ये २ जना भर्खर अस्पतालबाट डिस्चार्ज हुनु भएको भन्ने प्रारम्भिक जानकारी छ हामीलाई । २ जनाको उपचार भइरहेको छ । बेपत्ता एक जनाको खोजिका लागि सबै संयन्त्रलाई परिचालन गरिएको छ । खोजी कार्य जारी छ ।’

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2025. All Rights Reserved.