उपत्यकामा ट्राफिक कारबाहीमा परे आठ लाख ७६ हजार सवारीसाधन

काठमाडौं, २७ असार : ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाभित्र सवारी नियम उल्लङ्घन गर्ने आठ लाख ७६ हजार १४१ सवारीसाधनलाई कारबाही गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले चालु आर्थिक वर्षमा काठमाडौं, भक्तपुर र ललितपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनलाई कारबाही गरेको हो ।
कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनलाई कारबाही गरिएको जानकारी दिए । कारबाही गरिएकामध्ये लेनमा ३८ हजार ३६२, मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने ५३ हजार ६४, रातोबत्ती बलेको बेला सवारीसाधन चलाउने २८ हजार ९३२ सवारीसाधन कारबाहीमा परेका छन् ।
यस्तै, तीव्र गतिमा ५६ हजार ५२४, जथाभावी पार्किङ गर्ने एक लाख ३६ हजार ३९, आरक्षण सिट प्रयोग नगर्ने ७३६, जथाभावी हर्न बजाउने १४ हजार ४४७, लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने १४८ र ओभरलोड प्रयोग गर्ने १६ हजार ४८५ सवारीसाधन रहेका छन् ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट काठमाडौं उपत्यकाको सवारीसाधन व्यवस्थापनका लागि प्रहरी नायब महानिरीक्षक (डीआईजी)को नेतृत्वमा एक हजार ८०० बढी ट्राफिक प्रहरी परिचालन गरिएको छ । हाल देशभर ३० लाखभन्दा बढी सवारीसाधन सञ्चालनमा रहेका छन् । तीमध्ये काठमाडौं उपत्यकामा मात्र १२ देखि १५ लाख सवारीसाधन सञ्चालनमा रहेका छन् ।

