जनआन्दोलनका ‘जिउँदा सहिद’ कायस्थको निधन
काठमाडौं, २८ बैशाख : दोस्रो जनआन्दोलन (२०६२/०६३)का जिउँदा सहिद मुकेश कायस्थको निधन भएको छ। उनको उपचारको क्रममा बुधबार साँझ निधन भएको मुकेश कायस्थ प्रतिष्ठानका अध्यक्ष हीरा शर्मा नेपालले जानकारी दिए।
स्वास्थ्यमा समस्या देखिएपछि कायस्थलाई गत सोमबार शिर मेमोरियल अस्पताल बनेपामा भर्ना गरिएको थियो।
२०६२ चैत २७ गते बनेपामा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर कायस्थ अचेत भएका थिए। १४ वर्षकै उमेरमा गोली लागेका उनलाई ११ महिना काठमाडौंको वीर अस्पतालमा उपचार गरेर घर लगिएको थियो। घर लगिएपछि पनि उनी ओछ्यानको ओछ्यान नै रहे।
२०७६ सालमा मस्तिष्को नशाको शल्यक्रियासमेत गरिएको थियो। त्यसयता उनको अवस्था झन् खस्कँदै गएको परिवारले जानकारी दिएको छ।
उनको बिहीबार अन्त्येष्टि गरिने प्रतिष्ठानका अध्यक्ष नेपालले जानकारी दिए।
‘जिउँदो सहिद’ कायस्थको निधनप्रति प्रधानमन्त्रीले गरे दुःख व्यक्त
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोस्रो जनआन्दोलनका घाइते मुकेश कायस्थको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
‘जिउँदो सहिद’ भनिने कायस्थको निधनप्रति बिहीबार बिहान प्रधानमन्त्री प्रचण्डले दुःख व्यक्त गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
उनले शोक सन्तप्त परिवार, आफन्त र शुभेच्छुकमा गहिरो समवेदना प्रकट गरेका छन् ।
कायस्थको उपधारका क्रममा बुधबार राति बनेपास्थित शिर मेमोरियल अस्पतालमा निधन भएको थियो ।