आज बुद्ध जयन्ती, शान्तिको कामनासहित विभिन्न कार्यक्रम आयोजना गरिँदै

काठमाडौं, २२ बैशाख : शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६७औँ जयन्ती आज भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ ।
 
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरणस्वरूप यो पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्ध जयन्ती मनाउने गर्दछन् ।

“अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो”, यस्ता अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको २५६७औँ जयन्ती शान्तिको कामना गर्दै आज देशभर मनाउन लागिएको हो ।
 
बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गरिन्छ । आम मानिसलाई बेलुकी घरमा दीपावली गरेर बुद्ध जयन्ती मनाउन सरकारले आह्वान गरेको छ । 

यस अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाउने परम्परा छ । इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६७ वर्षअघि रुपन्देही जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो । राजकुमारका रूपमा जन्म लिएका सिद्धार्थ गौतम मानिसले पाएका दुःख देखेर चिन्तित बने। उनी उनान्तीस वर्षको उमेरमा दरबार छोडी तपस्याका लागि निस्कएका थिए ।

बुद्ध जयन्तीको मूल समारोह उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड लुम्बिनी आउँदै

२५६७ औँ बुद्ध जयन्ती एवं लुम्बिनी दिवस २०८० को मूल समारोह उद्घाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुुक्रबार लुम्बिनी आउने भएका छन् । 

प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार बिहान ९ बजे हेलिकोप्टर मार्फत प्रचण्ड लुम्बिनी आउने कार्यक्रम छ । प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले दिएको जानकारी अनुसार प्रचण्डले लुम्बिनीमा आयोजित दिवसको मूल समारोह उद्घाटन गर्नुका साथै लुम्बिनीको अवलोकन भ्रमण पनि गर्नेछन् ।

अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रमा २५६७ औँ बुद्ध जयन्ती एवं लुम्बिनी दिवस विशेष समारोहको तयारी पुरा भएको लुम्बिनी विकास कोसका कोषाध्यक्ष तथा प्रचार प्रसार उपसमिति संयोजक ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले जानकारी दिए ।

शुक्रबार पूर्णिमाको दिन बिहान पूजा पाठ, शोभा यात्रा, बिहान ९ बजे देखि ११ बजे दुई घण्टासम्म बुद्ध जयन्तीको मूल कार्यक्रम आयोजना हुने लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए ।  त्यसैगरी २२ गते पाण्डितपुरदेखि रामग्राम अस्थि धातु यात्रा, २३ गते बिहान ८ बजे लुम्बिनीबाट कपिलवस्तु सम्म बोधिसत्त्व सिद्धार्थको शोभा यात्रा, बिहान ११ बजे कपिलवस्तु तिलौराकोटमा विशेष समारोह हुने लुम्बिनी विकास कोषले जानकारी दिएको छ । लुम्बिनी दिवसको अवसरमा लुम्बिनी झकिझकाउ बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.