विश्वकप : तेस्रो स्थानका लागि मोरक्को र क्रोएसिया भिड्दै

काठमाडौं, २ पुस : कतार फिफा विश्वकप २०२२ को तेस्रो स्थानको लागि आज क्रोएसिया र मोरक्कोले प्रतिस्पर्धा गर्दैछ । यी दुईबीचको खेल खलिफा अन्तर्राष्ट्रिय रंगशालामा नेपाली समयअनुसार राति ८:४५ बजे सुरु हुनेछ ।

साविकको उपविजेता क्रोएसिया सेमिफाइनलमा अर्जेन्टिनासँग ३–० ले तथा मोरक्को साविक विजेता फ्रान्ससँग २–० ले पराजित हुँदै फाइनल पुग्नबाट चुकेको थिए ।

अघिल्लो पटकको उपविजेता क्रोएसिया यसपाली तेस्रो बन्दै घर फर्कन चहान्छ । तर, त्यसको लागि क्रोएसियाले यस विश्वकपमा सनसनीपुर्ण प्रदर्शन गर्दै इतिहास बनाइसकेको अफ्रिकी राष्ट्र मोरक्कोको चुनौती पन्छाउनुपर्ने हुन्छ ।

क्रोएसिया सन् १९९८ को विश्वकपमा पनि तेस्रो भएको थियो । त्यसबेला क्रोएसियाले नेदरल्यान्ड्सलाई २–१ ले हराएको थियो । यसपटक मोरक्कोलाई हराएर त्यही नतिजा कायम गर्न चहान्छ ।

यता, मोरक्को पनि क्रोएसियालाई हराएर विश्वकपमा ऐतिहासिक तेस्रो पदक लिएर घर फर्कन चहान्छ । सनसनीपूर्ण प्रदर्शन गरेको मोरक्कोले समूह चरणको खेलमा क्यानडाविरुद्ध आत्मघाती गोलबाहेक सेमिफाइनलमा २ गोल खान पुग्यो ।

मोरक्कोले अफ्रिकाबाट सेमिफाइनल खेल्ने पहिलो टोलीको इतिहास बनाइसकेको छ । शनिबार क्रोएसियालाई हराउन सके मोरक्को विश्वकपमा तेस्रो हुने पहिलो अफ्रिकी राष्ट्र बन्नेछ । यसअघि अफ्रिकी टोली क्वाटरफाइनलभन्दा अघि बढ्न सकेको थिएन ।

यसअघि क्यामरुन (१९९०), सेनेगल (२००२) र घाना (२०१०) ले क्वाटरफाइनलसम्मको यात्रा मात्र तय गर्न सकेका थिए । मोरक्को त्यो भन्दा एक खुड्किलो माथि पुगेको हो । तेस्रो भए थप अर्को खुड्किलो माथि जानेछ । मोरक्को सन् १९८६ मा मेक्सिकोमा भएको विश्वकप फुटबलमा अन्तिम १६ सम्म पुगेको थियो ।

त्यसयता, मोरक्को विश्वकपको नकआउट चरणमा पुग्न सकेको थिएन । सन् १९९४, १९९८ र २०१८ को विश्वकपमा मोरक्को समूह चरणबाटै बाहिरिएको थियो । तर, यसपटक मोरक्कोले बेल्जियम, क्यानडा, स्पेन र पोर्चुगलको चुनौती पन्छाउँदै सेमिफाइनलको यात्रा तय गरेर इतिहास रच्न सफल भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.