नेपालमा विद्युतीय सवारीसाधनमा आकर्षण बढ्दै

काठमाडौं, १८ मंसिर : नेपालमा विद्युतीय सवारीसाधनमा नागरिकको चासो र आकर्षण बढ्न थालेको छ । गत शुक्रबारदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना भएको ईभी नेपाल एक्स्पोमा सर्वसाधरणहरुको आकर्षण देखिएको हो । 

तीन दिनसम्म सञ्चालन भएको एक्स्पोमा दैनिक ७०० भन्दा बढी विद्युतीय सवारीसाधन अवलोकन कर्ताहरु आएका आयोजकले बताएको छ । नेपालमा विद्युतीय सवारी प्रोत्साहन गरी सर्वसाधरणलाई विद्युतीय सवारी साधनको बारेमा जानकारी दिन सफल भएको आयोजकले बताएको छ । 

ईभी एक्स्पोका आयोजक नारायण क्षेत्रीले तीन दिन भएको एक्स्पोमा विद्युतीय सवारी साधनप्रति सर्वसाधरणको आकर्षक बढेको देखिएको बताए । उनले एक्स्पोमा आयोजकले अपेक्षा गरेकोभन्दा दोब्बर बढी सर्वसाधरणहरु एक्स्पो अवलोनक गर्न आएको बताए । 

क्षेत्रीले नेपालमा भारतीय कम्पनीका धेरै विद्युतीय सवारीका कम्पनीहरु आउन चाहेको बताए । उनले नेपालमा विद्युतीय सवारी भित्र्याउने मात्रै नभएर विद्युतीय सवारी साधनको व्यवस्थापन आवश्यक रहेको बताए । 

क्षेत्रीले विद्युतीय सवारीसाधनको लागि सरकारले मुलुकभर चार्जिङ स्टेसन बनाउन आवश्यक रहेको बताए । उनले अबको पाँच वर्षमा ५० प्रतिशत विद्युतीय सवारीसाधन पुर्‍याए मात्रै पनि धेरै नेपाली पैसा नेपालभित्र नै रहने बताए । 

त्यस्तै, विद्युतीय स्कुटर व्यवसायी विनोदप्रसाद न्यौपानेले पछिल्लो समय मानिसहरुको विद्युतीय सवारीसाधनप्रति आकर्षण बढेकाले एक्स्पोमा सोचेकोभन्दा बढी अवलोकनकर्ताहरु आएको बताए । उनले नेपालमा अब विद्युतीय सवारी साधनहरुको भन्दा अरुको सम्भावना कम रहेको बताए । उनले विद्युतीय सवारीसाधनप्रति मानिसहरुको आकर्षण बढ्नु सकारात्मक रहेको बताए ।

त्यस्तै, ईभी नेपाल एक्स्पोका मिडिया संयोजक भुषणकुमार श्रेष्ठले अन्तर्राष्ट्रिय बजारका मानिसहरु नेपालमा आएर विद्युतीय सवारीसाधनको एक्स्पो गर्दासमेत सर्वसारणको उपस्थिति राम्रो रहेको बताए । उनले एक्स्पोमा भएको उपस्थितिले नेपालीहरुको विद्युतीय सवारीसाधनप्रति आकर्षण बढेको बुझ्न सकिने बताए । उनले नेपाल जलविद्युतमा धनी भएकाले अब सबै नेपालीले विद्युतीय सवारीसाधन प्रयोग गर्नु आवश्यक रहेको बताए । 

त्यस्तै, एक्स्पो अवलोकन गर्न आउने सर्वसाधरणले भने विद्युतीय सवारी साधन चढ्नुपर्ने भए पनि अत्यधिक महँगो भएको गुनासो गरे । उनीहरुले सामान्य सर्वसाधरण नेपालीले चढ्नसक्ने गरी राज्यले भन्सार कम गरेर वा मूल्य तोक्न आवश्यक देखिएको बताए । 

पछिल्ला दशकहरूमा विद्युतीय गाडीको लोकप्रियता बढ्दो क्रममा रहेको छ । विद्युतीय यातायातको सुविधाले परम्परागत गाडीहरुले निम्त्याउने स्वास्थ्यका साथै जलवायु परिवर्तनका समस्याहरु पनि कम गर्छ । एक्स्पोमा विशेषगरी विद्युतीय कार, विद्युतीय स्कुटर, मोटरसाइकल र साइकल, विद्युतीय बस, विद्युतीय ट्रयाक्टर, विद्युतीय कार्गो लोडर, रिक्सा तथा विद्युतीय चार्जिङ स्टेसन, ब्याट्री तथा अन्य विद्युतीय सामग्रीहरू प्रदर्शनमा छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2025. All Rights Reserved.