निर्वाचनले उच्च राजनीतिक संस्कार स्थापित गर्यो : प्रमुख निर्वाचन आयुक्त

काठमाडौं, १६ मंसिर : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनले मुलुकमा उच्च राजनीतिक संस्कार स्थापित गर्न सफल भएको बताएका छन् ।
निर्वाचनमा खटिएका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, सुरक्षा निकायमा जिल्ला प्रमुख लगायतलाई धन्यवाद दिन जिल्ला निर्वाचन कार्यालय, काठमाडौंले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख आयुक्त थपलियाले आयोगले निर्वाचनको निष्ठा कायम राख्न गरेका अधिकांश अपेक्षा पूरा भएको बताएका हुन् ।
“हामीले नेपालमा २०४८ सालदेखिको निर्वाचन देख्दै आएका छौँ । पछिल्लो पटक सबैले निर्वाचन खर्चिलो र भड्किलो भयो भन्ने सुनियो”, आयोगले राखेका अपेक्षाको विश्लेषण गर्दै उनले भने, “यस कारण हामीले निर्वाचनमा यसपटक कुनै पनि पद पैसा, पहुँच र पाखुराको भरमा नभई नीति, सिद्धान्त, विचार, निष्ठा र प्रतिबद्धताले जित्नुपर्छ भन्ने स्थापित गर्यौँ ।”
उनले विभिन्न कारणले निर्वाचनलाई दूषित पार्ने मनसाय बोकेका व्यक्तिले मिथ्या सूचना, दुष्प्रचार र द्ववेशपूर्ण अभिव्यक्तिको माध्यमबाट निर्वाचनलाई अप्ठ्यारो पार्ने कार्यलाई नजिकबाट नियमन गर्न यस पटक सफल भइरहेको पनि बताए ।
उनले अब भौतिक रुपमा वा सडकबाट मात्रै नभइ सामाजिक सञ्जालमार्फत पनि निर्वाचन प्रभावित गर्न नपाइने मान्यता स्थापित भएको बताए । निर्वाचनमा पराजितले विजेतालाई सहर्ष आत्मैदेखि बधाई दिनसक्ने वातावरण बनाउनुपर्छ भन्ने मान्यता पनि यस पटकदेखि स्थापित भएको उनको भनाइ छ ।
उनले निर्वाचन अधिकृतहरूले उत्कृष्ट ढङ्गले काम गरेको भन्दै धन्यवाद दिँदै काम गर्दा केही अप्ठ्यारा आएका भए सुधारका लागि सुझाव दिन आग्रह गरे । उनले आयोग वर्तमान निर्वाचन कानुनसँग सन्तुष्ट नभएको बताउँदै भने– “हामी वर्तमान निर्वाचन कानुनसँग सन्तुष्ट छैनौँ । हामी अब छिट्टै कानुन संशोधनको प्रक्रिया अघि बढाइनेछ ।” उनले नयाँ संसद्को नयाँ अधिवेशनमा कानुन संशोधनले प्रवेश पाउने बताए ।

उनले मंसिर १९ गतेसम्ममा मत गणना कार्य सम्पन्न गरिसक्ने र राजनीतिक दलहरुलाई मंसिर २२ गतेसम्ममा निर्वाचित प्रतिनिधि सभा सदस्यहरुको नाम कानूनले तोकेअनुरुप पठाउनका लागि पत्राचार गरिने पनि बताए ।
‘२२ गतेसम्म पत्राचार भइसक्ने गरी हाम्रो तयारी छ । त्यसको ३ दिन समय हुन्छ । र त्यो प्राप्त भएको दुई दिन भित्रमा हामीले सम्पूर्ण प्रतिवेदन तयार गरेर सम्माननीय राष्ट्रपतिज्यू समक्ष बुझाउने भनेर भनेका थियौ,’ उनले भने, ‘सबै अभ्यास २२ गते सक्ने भनेका थियौँ । त २५÷२६ गते पुग्छ कि भन्ने देखिएको छ । आयोग त्यही अभियानमा तम्तयार भएर लागिराखेको छ ।’
प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगले एकै चरणमा सबै ठाउँको निर्वाचन सम्पन्न गरेर आगामी दिनमा पनि सबै ठाउँमा एकै चरणमा निर्वाचन सम्पन्न गर्न सकिन्छ भन्ने कुरालाई प्रमाणित गरेको बताए ।
