एकाएक किन स्थगित भयो सिभिल र हिमालयन बैंकबीचको मर्जर ?

काठमाडौँ, असार २५ : शुक्रबार गर्ने भनिएको सिभिल बैंक र हिमालयन बैंकबीचको मर्जर सम्झौता एकाएक अनिश्चित बनेको छ । मंगलबार स्वाप रेसियो, सञ्चालक, कर्मचारी समायोजन र सम्पत्तिको विषय टुङ्ग्याएर शुक्रबार सम्झौता गर्ने तयारी भाँडिएपछि दुबै बैंकका सञ्चालकबीच एक अर्कामा दोषरोपण सुरु भएको छ ।

१००:८१ को रेसियोमा आफ्नो नामको अस्तित्व नै मेटिनेगरि हिमालयन बैंकसँग मर्जर गर्न लागेको सिभिल बैंक कर्मचारी समायोजनमा अझै कुरा नमिलेको कारण मर्जर लम्बिएको बताइएको छ । सिभिलको १०० कित्ता बराबर हिमालयन बैंकले आफ्नो ८१ कित्ता सेयर हुनेगरी अक्वायर गर्न तयार भएकोमा सम्झौताको अघिल्लो दिन बिहीबार साँझ दुई बैंकको मर्जरमा एकाएक खटपट सुरु भएको हो । नेपाल इन्भेस्टमेन्ट बैंकसँग मर्जर भाँडिएपछि सिभिलसँग प्रक्रिया अघि बढाएको हिमालयन बैंकले सिभिल बैंकका हालका सीईओ सुनिल पोखरेललाई डेपुटी सीईओ मान्न तयार भएपनि अन्य कर्मचारीको हकमा एक तह घटाएर कर्मचारी मिलना गर्न प्रस्ताव गरेपछि मर्जरमा खटपट सुरु भएको हो । सिभिल बैंकका सीईओ र कम्पनी सचिवले कर्मचारीको सम्मानजनक समायोजनको स्पष्ट खाका नआई मर्जरमा जान नहुने भन्दै संचालक समितिलाई कन्भिन्स गराएपछि सिभिल बैंकका सञ्चालकहरु पछि हटेका हुन ।

नेपाल इन्भेस्टमेन्ट बैंकसँग मर्जर भाँडिएपछि पार्टनर खोजिरहेको हिमालयन बैंकले सम्पत्ति तथा दायित्वको मूल्यांकनबाट तय हुने स्वाप रेसियो मात्रै दिन सक्ने बताएपछि सम्झौता स्थगित भएको सिभिल बैंकका सञ्चालकले बताउँछन । सम्झौता गर्नका लागि होटल सोल्टीको हल समेत बुक गरिएको भएपनि हिमालयन बैंकको साधारणसभाले मर्जर प्रस्ताव अस्वीकृत गरेपछि स्थगित भएको हो ।

तत्कालिन अध्यक्ष इच्छाराज तामाङ आर्थिक अपचलन मुद्धामा जेल परेपछि खस्कक्दै गएको सिभिल बैंकले आफ्नो नामोनिसान नै मेटिनेगरि हिमालयन बैंकसँग मर्जर गर्न तयार भएको थियो । मर्जर प्रश्चात हिमालयन बैंक कै अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ र सीईओ अशोक राणा रहने तय भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2025. All Rights Reserved.