नेफ्स्कूनद्वारा विभिन्न पुरस्कार घोषणा, सुनसरी बचत सङ्घ उत्कृष्ट घोषित

काठमाडौँ, ३० साउन : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्स्कून) को बैठकले उत्कृष्ट सङ्घसहित विभिन्न पुरस्कारको घोषणा गरेको छ ।

सङ्घको ३१ औँ स्थापना दिवसका अवसर पारेर बसेको बैठकले सुनसरी जिल्ला बचत सङ्घलाई नेफ्स्कून सर्वोत्कृष्ट जिल्ला सङ्घबाट सम्मान गर्ने निर्णय गरेको हो ।

त्यस्तै बैठकले ‘नेफ्स्कून पत्रकारिता पुरस्कार’ सहकारी नेपालका सम्पादक एवम् अन्नपूर्णपोष्ट दैनिकका तुलसीराम सुवेदीलाई दिने निर्णय गरेको नेफ्स्कूनका महासचिव चन्द्रप्रसाद ढकालले जानकारी दिनुभयो ।

यसैगरी संस्थापक अध्यक्ष पुरस्कार बाँकेका मीना सिग्देल र दोलखाका यज्ञराज ढुङ्गेललाई तथा नेफ्स्कुन सर्वोत्कृष्ट संस्था पुरस्कार दोलखाको हाम्रो जनकल्याण साकोस र मकवानपुुरको महिला जागरण साकोसलाई दिइने भएको छ ।

प्रदेशस्तरीय उत्कृष्ट सदस्य संस्था सम्मान मोरङको जनचाहना साकोस (प्रदेश नं. १), रौटहटको नवविकास साकोस (प्रदेश नं. २), सिन्धुलीको मिलिजुली साकोस (प्रदेश नं. ३), नवलपरासी सुस्ता पूर्वको परोपकार साकोस (प्रदेश नं. ४), रुपन्देहीको कोलिया साकोस (प्रदेश नं. ५), सुुर्खेतको शिखर साकोस (प्रदेश नं. ६) र कञ्चनपुरको सिर्जनशील साकोस (प्रदेश नं. ७ ) लाई प्रदान गर्ने नेफ्स्कूनले जनाएको छ ।

त्यस्तै झापा/काठमाडौँका रिना आचार्य र नवलपारासीका खेमराज सापकोटालाई नेफ्स्कून सम्मान तथा कैलालीका डा गोविन्दराज जोशीलाई नेफ्स्कून विद्वता सम्मान दिइने निर्णय भएको महासचिव ढकालले जानकारी दिनुभयो ।

नेफ्स्कून राइफाइसन क्रेडिट पुरस्कार बङ्गलादेशको सीसीयूएलबीलाई र नेफ्स्कून उत्प्रेरणा अभिनन्दन पुरस्कार विष्णुकुमार श्रेष्ठलाई प्रदान गर्ने निर्णय पनि भएको जनाएको छ । उक्त सम्मान तथा पुरस्कार नेफ्स्कूनको आगामी पुस महिनामा हुने साधारणसभा वितरण गर्ने महासचिव ढकालले बताउनुभयो ।

उहाँले नेफ्स्कूनले साउन ३१ गते आफ्नो स्थापना दिवस २२ वटा फिल्ड कार्यालयबाट मनाउने पनि बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.