सिभिल सहकारीको ठगी प्रकरण : इच्छाराज कि श्रीमती पक्राउ पछि अन्य मतियारमा पनि सिआईबीको नजर
काठमाडौँ, १० साउन । सिभिल सेभिङ्ग एण्ड क्रेडिट सहकारी संस्थाका पूर्व अध्यक्ष तथा सञ्चालक इच्छाराज तामाङ्गकी श्रीमती ५७ बर्षिय सिर्जना शाक्य तामाङ्ग पनि पक्राउ परेकी छन् ।
सिभिल सेभिङ् एण्ड क्रेडिट सहकारी संस्थामा आकर्षक ब्याजदर एवम् बिभिन्न प्रलोभन समेतमा पारी ठुलो संख्यामा वचतकर्ताहरुलाई रकम जम्मा गर्न लगाई संगठित रुपमा ५ अर्ब ८४ करोड ४० लाख २१ हजार ७ सय तेह्र रुपैयाँ ठगेको आरोपमा उनी पक्राउ परेकी हुन् । काठमाडौँ महानगरपालिका वडा नं. १३ सोल्टीमोडमा केन्द्रीय कार्यालय रहेको सिभिल सहकारी ठगी प्रकरणमा फरार मुख्य योजनाकार समेत रहेकी सिर्जनालाई बचतकर्ताको रकम ठगेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) उनलाई गत मंगलबार पुतलीसडकबाट पक्राउ गरेको हो ।
बिगत ३ वर्ष देखी आफुले वचत गरेको रकमको सावाँ तथा ब्याज पाउन पटक पटक अनुरोध गर्दा समेत नपाएको भन्दै १५३० जना बचतकर्ताहरुले ठगी एवम् संगठित अपराध कसूरमा जाहेरी दरखास्त दिएपछि सोहि जाहेरी दरखास्तको आधारमा अनुसन्धान पश्चात २०७८ मंसिर १७ गते उक्त संस्थाका पूर्व अध्यक्ष ईच्छाराज तामाङ्ग सहित १२ जना प्रतिबादीहरुलाई पक्राउ गरी सम्मानित काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेकोमा प्रतिवादी ईच्छाराज तामाङ्ग र केशवलाल श्रेष्ठ पुपर्क्षको लागि कारागारमा छन् । सोही ठगी मुद्दामा उनीलाई सम्मानित काठमाडौं जिल्ला अदालतबाट गत पुस २७ गते पक्राउ पूर्जी जारी भए पश्चात देखीनै प्रतिवादी ईच्छाराज तामाङ्गकी पत्नी सहकारीको तत्कालीन लेखा समिति सदस्य सिर्जना फरार रहेकी थिइन ।
पक्राउ पश्चात उनलाई आवश्यक कानुनी कारबाहीको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरीएको र हाल उनी थुनामा रहेको ब्यूरोका प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिनुभयो ।
तामाङ्ग पत्नी सिर्जना र सिभिल बैकका कम्पनि सचीव हिराकाजी बस्नेत सिभिल क्यापिटलमा संचालक हुँदा १२ करोड भन्दा बढी सिभिल सहकारीमा मुद्द्ती खातामा राखेको रकम पनि डुबेको छ । सो रकम अझै नउठेको एक पुर्व संचालकले बताएका छन । तामाङ्गले आफु सम्बद्ध बिभिन्न वित्तिय संस्थामा बस्नेत जस्ता आफ्ना नजिका मान्छेलाई सञ्चालकमा राखेर बिभिन्न ठगि गर्दै आएका थिए ।
यस ठगी प्रकरणमा सिआईबीले अब आफ्नो नजर अन्य मतियारमा समेत केन्द्रीत गरेको जनाएको छ ।