वरिष्ठ साहित्यकार घिमिरे रु एक लाख नगदसहित बिपी साहित्य सम्मानबाट सम्मानित
टेकनाथ न्यौपाने । काठमाडौँ, २२ भदौ : जननायक बिपी कोइराला स्मृति ट्रष्टले यस वर्षको बिपी साहित्य सम्मान वरिष्ठ साहित्यकार रोचक घिमिरे र बिपी सेनानी सम्मान काङ्ग्रेस नेता चक्रप्रसाद बाँस्तोलालाई प्रदान गरेको छ ।
जननायक विश्वेश्वरप्रसाद कोइरालाको १०५औँ जन्मजयन्तीको अवसरकाे सन्दर्भमा काठमाडौंमा आयोजित एक कार्यक्रममा ति सम्मान प्रदान गरिएका हुन् ।
२०१५ सालबाट लेखन यात्रा सुरु गर्नुभएका ७७ बर्षिय वरिष्ठ साहित्यकार रोचक घिमिरेलाई प्रदान गरिएको बिपी साहित्य सम्मान रु एक लाख एक हजार नगदराशि सहित ताम्रपत्र रहेको छ । घिमिरेले २०१८ सालदेखि “रचना साहित्यिक पत्रिका” सम्पादन-प्रकाशन गर्दै आउनुभएको छ । द्वैमासिक रूपमा प्रकाशित हुने ‘रचना’को हालसम्म पूर्णाङ्क १५५ प्रकाशित भैसकेको छ ।
त्यसैगरी ५१ हजार नगदराशि र ताम्रपत्र सहितकाे बिपी सेनानी सम्मान विगत ६ बर्षदेखि अचेत अवस्थामा रहनुभएका नेपाली काङ्ग्रेसका नेता चक्र बास्तोलालाई प्रदान गरियो । उक्त सम्मान बाँस्तोलाका तर्फबाट उहाँकी धर्मपत्नी कुसुम बाँस्तोलाले लिनुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि पूर्वराष्ट्रपति डा रामवरण यादवले बिपी कोइरालाले देखेको सपना संविधान निर्माण भएर पूरा हुँदै गएको बताउनुभयो । उहाँले प्रजातन्त्रको रक्षाका लागि हिमाल, पहाड र तराईलाई जोडेर अगाडि बढ्नुपर्ने उल्लेख गर्नुभयो । नेपाली काङ्ग्रेसको तर्फबाट गणतन्त्र नेपालको प्रथम राष्ट्रपति बन्नुभएका यादवले काङ्ग्रेसले कल्पना गरेको प्रजातान्त्रिक बाटोमा मुलुक अगाडि बढेको बताउनुभयो । “सक्षम प्रतिपक्ष नभई लोकतन्त्र चल्न सक्दैन”, उहाँले भन्नुभयो ।
बाँस्तोलाले प्रजातन्त्र स्थापनाका लागि गर्नुभएको सङ्घर्षबारे बोल्नुहुँदै वरिष्ठ पत्रकार हरिहर विरहीले बाँस्तोला पार्टीभित्र देखिएको गुटउ पगुटलाई मिलाएर लैजाने क्षमता भएको राजनीतिज्ञ भएको बताउनुभयो । “बिपी कोइरालालाई राजनीतिमा सफल बनाउन बाँस्तोलाको पनि महत्वपूर्ण भूमिका रहेको छ”, उहाँले भन्नुभयो ।
सम्मानित साहित्यकार घिमिरेको बारेमा बोल्नुहुँदै प्रा डा अभि सुवेदीले नेपालको साहित्यिक पत्रकारिताको विकास र विस्तारमा उहाँले पुर्याउनुभएको योगदान र भूमिकाको चर्चा गर्नुभयो । सम्मानित व्यक्तिद्वय घिमिरे र बास्तोलाका तर्फबाट श्रीमती बास्तोलाले नेपाली साहित्य र राजनीतिक क्षेत्रमा गरेको योगदानबापत् बिपी कोइरालाको नाममा स्थापना भएको संस्थाले सम्झेर सम्मान गरेकोमा प्रसन्नता व्यक्त गर्नुभयो ।
ट्रष्टका अध्यक्ष श्रीहर्ष कोइराला, महासचिव रामचन्द्र पोखरेलले कोइरालाले राजनीतिक र साहित्यिक क्षेत्रमा गरेको योगदानलाई आम जनतामाझ चिनाउन ट्रष्टले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँहरूले विगत वर्षदेखि नै सेनानी सम्मान र साहित्यिक सम्मानबाट विभिन्न व्यक्तिलाई सम्मान गर्दे आइरहेको उल्लेख गर्नुभयाे ।